काठमाण्डु-भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दुई एअरलाइन्स कम्पनीले स्वीकृत पाएको छ । यी दुई कप्पनीहरूले उडान स्वीकृतिसँगै उडान तालिका पनि पाएको छ ।
गौतम बुद्ध विमानस्थलबाट उडान अनुमति लिइसकेको अर्को एउटा अन्तर्राष्ट्रिय कम्पनीले भने तालिका स्वीकृत गराउन बाँकी छ ।
यसकासाथै अनुमति पाएकाबाहेक अन्य कम्पनीहरूले पनि उडान अनुमति लिन चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नेपालबाट अरब क्षेत्रमा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरू धेरै हुने भएकाले त्यहाँका वायुसेवा कम्पनीहरूले भैरहवामा पनि नेपाली कामदारहरूलाई लक्षित गरेर उडान गर्न लागेको जानकारहरू बताउँछन् ।
उद्घाटन भएको लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडानहरू हुन नसकेको यो विमानस्थलबाट अहिले नेपाल वायुसेवा निगमले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
निगमले अहिले सातामा एक दिन मङ्गलवार क्वालालम्पुरबाट भैरहवामा उडान गरिरहेको छ । प्राधिकरणका अनसार भैरहवा विमानस्थलबाट उडान गर्नका लागि यूएईको फ्लाईदुबई, कुवेतको जजीरा एयरवेज र हालै नेपालमा उडान थालेको थाई एअर एशियाले उडान अनुमति पाएका छन् ।
उडान अनुमति पाएकामध्ये फ्लाई दुबई र जजीराले उडान तालिका पनि स्वीकृत गराइसकेका छन् । थाई एअर एशियाको उडान तालिका स्वीकृत भएको छैन ।
अक्टोबर २ बाट नेपालमा उडान सुरु गरेको थाई एअर एशियाले ब्याङ्कक–काठमाडौं चार र ब्याङ्कक–भैरहवा चारवटा उडान गर्ने गरी अनुमति पाएको हो ।
भैरहवा विमानस्थलका निमित्त महाप्रबन्धक सन्तोषकुमार पोखरेलका अनुसार फ्लाईदुबई र जजीरा दुवैले अक्टोबर २७ देखिको उडान तालिका स्वीकृत गराएका छन् ।
फ्लाईदुबईले हप्ताका सातै दिन एक–एक उडान गर्ने तालिक स्वीकृत गराएको छ । जजीराले मङ्गलवार, बिहीवार र शनिवार गरी सातामा तीन उडान गर्ने स्वीकृति लिएको छ ।
फ्लाईदुबईले भैरहवामा बोइङ–७३७ विमानबाट उडान गर्ने अनुमति लिएको छ भने जजीराले एयरबस–३२० विमानबाट उडान गर्ने अनुमति लिएको छ । जजीरा एयवेजले यसअघि पनि भैरहवा विमानस्थल सञ्चालनमा आएपछि उडान थालेको थियो तरसन् २०२३ को अप्रिलदेखि उडान स्थगित गरेको थियो ।
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान प्रोत्साहित गर्न सरकारले टिकट शुल्कमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य कतिपय सेवा शुल्कहरू नलिने निर्णय गरेको छ ।
भ्याट नजोडिँदा टिकटको मूल्य घट्ने भएकाले त्यसले पर्यटकसहित अन्य यात्रुलाई ती विमानस्थलतर्फ आकर्षित गर्न सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।




प्रतिक्रिया