काठमाण्डु– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारतीय रकम बरामद भएको छ ।
बुद्ध एयरको उडानमार्फत काठमाण्डु आउन लागेका भारत आन्ध्र प्रदेशको प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवास उक्त रकमसहित पक्राउ परेका हुन् ।
विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरेबाट परीक्षण गर्दा उक्त रकम फेला परेको हो ।
प्रहरीका अनुसार श्रीनिवासले साथमा बोकेको खैरो रङको हाते झोलाबाट भारतीय रुपैयाँ ५०० दरका १ हजार ५९० थान नोट बरामद भएको हो । बरामद रकमको कुल मूल्य ७ लाख ९५ हजार भारतीय रुपैयाँ रहेको छ ।
उक्त रकमसहित श्रीनिवासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।
पक्राउ परेका व्यक्ति र नगद थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले बताए ।




प्रतिक्रिया