काठमाडौं – पूर्वसांसद गायत्री साहलाई ३ दिनभित्र आफ्नो शिशु लैजान अदालतले आदेश दिएको छ । पाटन उच्च अदालतले हाल शिशुको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज गरेर घर लैजान सांसद साहलाई आदेश दिएको हो ।
साहले ०७५ फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय शिशुलाई उपचारमा राखिरहेकै अवस्थामा साहले अस्पतालकै कारण आफ्नो छोराको स्वास्थ्यमा समस्या आएको भन्दै शिशुको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान लिँदै छोडेकी थिइन् ।
शिशु जन्मेको ८ महिना हुँदासमेत साहले शिशुलाई लैजान नमानेपछि वीर अस्पतलामा कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेण्ट बालरोग विशेषज्ञ डा. पंकज राय र डा. रामहरी चापागाईसहितको चिकित्सक टोलीले शिशुको थप स्वास्थ्य परीक्षण गरेको थियो ।
अस्पताल प्रशासन र चिकित्सकहरुले भने साहको छोरालाई स्वास्थ्य परीक्षण गर्दा ‘डाउन सिन्ड्रोम’ भएको बताउँदै आएका छन् । गत असोज ८ गतेको आदेशअनुसार शिशुको हक प्रचलनका लागि बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको अधिकारको प्रचलन गराउने प्रयोगार्थ शिशुका अभिभावकलाई तीन दिनभित्र शिशु लैजान उच्च उदालनले निर्देशन दिएको हो । अदालतले ०७६ असोज ३० गते नै पत्र काटेपनि कात्तिक ३ भईसक्दासम्म साह अस्पतालमा शिशुलाई लिन गएकी छैनन् ।




प्रतिक्रिया