काठमाण्डु – गाजामा दुई वर्षदेखि चलिरहेको युद्धको प्रभाव केवल त्यो सानो क्षेत्रमा मात्र सीमित छैन । यस संघर्षको प्रभाव लेबनान, सिरिया, इरान र यमनसम्म फैलिएको छ ।
विश्लेषकहरूका अनुसार यस युद्धले न केवल मध्यपूर्वको राजनीति बदलिदिएको छ, तर विश्वको यस क्षेत्रसँगको सम्बन्ध पनि नयाँ रूपमा परिणत भएको छ ।
युनिभर्सिटी कलेज लन्डनकी राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धकी सहयोगी प्राध्यापक डा. जुली नर्मन भन्छिन्, ‘यी दुई वर्षपछि यो क्षेत्र र विश्व कति बदलिनेछ, यसको प्रभाव अत्यन्त गहिरो छ ।’
२०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमण इस्रायलको इतिहासकै सबैभन्दा घातक थियो । यसमा करिब १,२०० जनाको मृत्यु भयो र २५१ जनालाई अपहरण गरियो ।
थिङ्क–ट्याङ्क चाथम हाउसकी मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रम निर्देशक डा. सनम वकीलले रोयटर्ससँग भनिन्, ‘यस आक्रमणले इजरायलको सुरक्षालाई भेद्न सकिँदैन भन्ने धारणा तोडिदियो ।’
दुई वर्षको युद्धको प्रभाव
इजरायलले गाजाको सीमा, तटरेखा र हवाई क्षेत्रमा नियन्त्रण राख्छ । यसले गाजामा ठूलो सैन्य कारबाही शुरू गरेको थियो ।
हमासद्वारा नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार दुई वर्षमा ६८ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जुन तथ्याङ्क संयुक्त राष्ट्रसंघले समेत स्वीकार गरेको छ ।
डा. नर्मन भन्छिन,‘गाजामा भएको विनाश र त्यहाँका मानिसहरूले भोगेको मानसिक आघात कल्पनातीत छ । यसको असर पुस्तौँसम्म रहनेछ ।’
उनका अनुसार ७ अक्टोबरको आक्रमणले ‘डोमिनो प्रभाव’ सुरू गरेको हो जसमा एउटा घटना अर्को घटनालाई प्रभावित पार्दै जान्छ ।
जस्तै, इजरायलले गाजामाथि हवाई हमला शुरू गरेपछि हमाससँग सम्बन्धित समूहहरू लेबनानको हिज्बुल्लाह र यमनका हूथी विद्रोहीहरूले पनि इजरायलमाथि आक्रमण गरे ।
यी सबै समूह सिरिया र हमाससहित लामो समयदेखि इरानद्वारा समर्थित ‘एक्सिस अफ रेजिस्टेन्स’ (प्रतिरोध अक्ष) का सदस्य थिए ।
अमेरिकाका तीन रिपब्लिकन राष्ट्रपति प्रशासनमा काम गरेका अमेरिकी राजनीतिज्ञ एलिएट अब्राम्स भन्छन्, ‘इजरायल यी सबै गुटहरूबाट खतरा महसुस गर्दै तिनलाई रोक्ने प्रयासमा थियो । तर ७ अक्टोबरपछि उसले निर्णय बदल्दै केवल प्रतिरोधले काम नचल्ने निष्कर्षमा पुग्यो ।’
‘इजरायलले पहिले हमास, त्यसपछि हिज्बुल्लाह र अन्त्यमा इरानमाथि आक्रमण गरेको हो । यो सुरक्षाबारे उसको विश्लेषणमा ठूलो परिवर्तन हो’, उनले भने ।
इजरायलको हवाई हमलामा हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका शीर्ष नेताहरू मारिएका थिए । त्यसपछि हिज्बुल्लाहको संगठन, संरचना र हतियार नष्ट भए ।
त्यसको दुई महिनापछि हिज्बुल्लाह र इरानका सहयोगी राष्ट्रपति बशर अल–असदविरुद्ध सिरियामा विद्रोह सुरु भयो । उनको २४ वर्ष लामो शासन दुई सातामै ढल्यो ।
डा. नर्मनका अनुसार बशर अल–असदको पतनमा क्षेत्रीय शक्ति सन्तुलनको परिवर्तन र सिरियाभित्र बढ्दो असन्तोष दुवै कारण थिए ।
उनी भन्छिन्, ‘हिज्बुल्लाह र इरान कमजोर भएपछि बशर अल–असदको सरकारलाई टिक्ने आधार बाँकी रहेन ।’
यसबीच इजरायलले सिरियाका सैन्य आधारहरूमा आक्रमण गर्यो ताकि भविष्यमा सिरियाली भूभागबाट कुनै आक्रमण हुन नपाओस् ।
सिरियाका नयाँ राष्ट्रपति, पूर्व इस्लामी लडाकू अहमद अल–शराले भनेका छन्–उनीहरूको सरकार इजरायलसँग युद्ध चाहँदैन र सिरियाको भूमि कुनै बाह्य आक्रमणको लागि प्रयोग हुन दिइने छैन ।
इजरायल–इरानबीच प्रत्यक्ष युद्धको खतरा दशकौँदेखि मडारिएको थियो, तर हिज्बुल्लाहका लामो दूरीका मिसाइल र हतियार भण्डारका कारण त्यो टल्दै आएको थियो ।
२०२४ को अप्रिल र अक्टोबरमा सुरु भएको तनाव २०२५ को जुनमा इजरायलद्वारा इरानका आणविक स्थलगत आक्रमणमा परिणत भयो, जसले १२ दिन लामो युद्ध जन्मायो ।
अमेरिकाले पनि यसमा भाग लिएर ‘बङ्कर बस्टर’ बम प्रयोग गरेको थियो पछि कतारको मध्यस्थतामा युद्धविराम भयो ।
अब्राम्सका अनुसार यी घटनाहरूपछि इरानको ‘प्रोक्सी नेटवर्क’ लगभग नष्ट भइसकेको छ । उनका शब्दमा, ‘हमास, हिज्बुल्लाह र इरान अहिले पहिलेभन्दा धेरै कमजोर छन् ।’
यो तीव्र परिवर्तनले सम्पूर्ण क्षेत्रलाई चकित बनायो । यसले व्यापक भू–राजनीतिक असर पनि पारेको छ । इरानका सहयोगी रूसले बशर अल–असदको पतनसँगै मध्यपूर्वमा आफ्नो मुख्य साझेदार गुमाएको छ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शरा एकअर्काका प्रतिद्वन्द्वी बनेका छन् ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा चीनको प्रभाव पनि घटेको छ । युद्धअघि चीन मध्यपूर्वमा शान्ति र व्यापारका मध्यस्थको रूपमा उभिँदै थियो र उसले इरान–साउदी सम्बन्ध पुनःस्थापनामा भूमिका खेलेको थियो । तर गाजा युद्धपछि अमेरिकाको ध्यान फेरि मध्यपूर्वतर्फ फर्किएको छ र चीन केही हदसम्म पछि हटेको छ ।
अब टर्की सिरियाको नयाँ सरकारको नजिकको साझेदार बन्दैछ । दशकौँसम्म सिरिया इरान र रूसको प्रभावमा थियो, तर अब टर्कीको भूमिका उल्लेखनीय रूपमा बलियो हुँदै गएको छ ।
इजिप्ट र कतारसँगै टर्कीले पनि गाजामा युद्धविराम कायम गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ । कतार, जहाँ हमासको राजनीतिक नेतृत्व बसोबास गर्छ र जहाँ अमेरिका सैन्य अड्डा राख्छ, मुख्य मध्यस्थको रूपमा अगाडि आयो ।
तर २०२५ सेप्टेम्बरमा इजरायलले दोहामा हमास नेताहरूलाई लक्षित गर्दै हवाई हमला गरेपछि कतार आक्रोशित भयो र युद्धविराम संकटमा परेको थियो ।
अहिले फ्रान्स, बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्ताइनलाई मान्यता दिए, जसले पनि महत्वपूर्ण प्रभाव पारेको बताइन्छ ।
अक्टोबरमा भएको युद्धविरामको पछाडि गाजामा इजरायली सेनाको अभियान र त्यहाँको मानवीय संकटप्रति विश्वव्यापी आक्रोश पनि प्रमुख कारण थियो ।
अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौतापछि विशेषज्ञहरू भन्छन्, ‘अझै धेरै कुरा अनिश्चित छन्, हमासको निशस्त्रीकरणदेखि लिएर गाजाको पुनर्निर्माण र सुरक्षा व्यवस्थासम्म ।




प्रतिक्रिया