गाजामा खानेकुराको हाहाकार, मच्चियो अराजकता र लुटपाट

गाजामा खानेकुराको हाहाकार, मच्चियो अराजकता र लुटपाट

राष्ट्रसंघमा प्यालेस्टिनी राजदूतले रुँदै भने- आगो र भोकले बालबालिकालाई निलिरहेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायलको आक्रमण सामना गरिरहेको उत्तरी गाजामा खानेकुराको अभाव भएको छ भने भोकमरी बढेको छ । जसकारण मुख्य सहरमा अराजकता र लुटपाट मच्चिएको छ ।

केही हप्तादेखि त्यहाँ अत्यावश्यक सहायता पुग्न सकेको छैन । स्थानीय प्यालेस्टिनीहरू खानाको खोजीमा भौंतारिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले मध्य सहर देइर अल–बलाहमा भोका मानिसहरूको भिड खाद्यान्न गोदाममा प्रवेश गर्दा कम्तीमा दुई जनाको गोली हानी हत्या गरिएको जनाएको छ । इजरायलको नाकाबन्दीबीच ११ हप्तापछि त्यहाँ राहत सामग्री पुगेको छ ।

बिहीबार राष्ट्रसंघमा गाजाको अवस्था वर्णन गर्दा प्यालेस्टिनी राजदूत रियाद मन्सुर आँसुले भक्कानिएका थिए । उनले संसारलाई गाजामा भोकमरीले ग्रस्त बालबालिका र त्यहाँको भयानक अवस्थाको बारेमा बोल्न लाग्दा भक्कानिएका थिए ।

‘धेरै बालबालिका भोकले मरिरहेका छन् । महिलाहरू आफ्ना निर्जीव बच्चाहरूलाई अँगालो हालिरहेका छन् । यो सबै देख्दा पीडा हुन्छ’ यसो भन्दै गर्दा उनी भक्कानिए ।

मन्सुरले भने, ‘प्यालेस्टिनीहरूको यो अवस्था कुनै पनि सामान्य मानिसले सहन सक्दैन । आगो र भोकले प्यालेस्टिनी बालबालिकालाई निलिरहेको छ ।’

पछिल्लो हप्ता ५०० भन्दा बढीको मृत्यु

इजरायलले गाजा पट्टीमा हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाउँदा पछिल्लो एक हप्तामा ५०० भन्दा बढीको मृत्यु भएको छ । ७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल–हमास युद्धमा हालसम्म ५५ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । जसमा हजारौं बालबालिका, महिला र वृद्धवृद्धाहरू छन् ।

गाजामा ७० प्रतिशत भवनहरू ध्वस्त

युद्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी सार्वजनिक पूर्वाधार ध्वस्त भएको छ र १९ लाख मानिसहरू (जनसंख्याको ८५ प्रतिशत) आफ्नो घरबाट विस्थापित भएका छन् ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविरामको प्रस्ताव स्वीकार गरेका छन् ।

यसअघि मे २६ मा लडाकू संगठन हमासले गाजामा युद्धविरामको लागि अमेरिकी प्रस्ताव स्वीकार गरेको थियो । प्रस्तावमा १० इजरायली बन्धकहरूको रिहाइ र ७० दिनको युद्धविराम समावेश थियो ।

इजरायलले मार्चमा युद्धविराम तोडेदेखि अहिलेसम्म २ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकाको मृत्यु भएको छ भने लगभग ४ हजार घाइते भएका छन् ।