गाजा कब्जा गर्ने योजना सार्वजनिक, इजरायली सेनालाई दिइयो आदेश

गाजा कब्जा गर्ने योजना सार्वजनिक, इजरायली सेनालाई दिइयो आदेश

गाजामा सैन्य कारबाही अझै तीव्र हुने संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायलको सुरक्षा क्याबिनेटले गाजा कब्जा गर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रस्तावलाई स्वीकृति दिएको छ।

इजरायलको यो निर्णयले झण्डै तीन वर्षको युद्धले आक्रान्त बनेको गाजामा थप क्रुरता फैलिन सक्ने आशंका गरिएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयले शुक्रबार बिहान एक वक्तव्य जारी गर्दै गाजा सिटीलाई कब्जा गर्ने सरकारको औपचारिक योजना र युद्ध अन्त्य गर्नका लागि निर्धारित पाँचवटा आधारभूत सिद्धान्त सार्वजनिक गरेको हो ।

यसअवधिमा ६२ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको हत्या गरेको इजरायली सत्ताले गाजा नियन्त्रणमा लिने नेतान्याहूको प्रस्तावलाई सुरक्षा क्याबिनेटको बहुमतबाट पारित गरेको हो ।

इजरायलले युद्ध समाप्त गर्नका लागि हमासको निशस्त्रीकरण, सबै बन्धकको जीवित वा मृतकको रुपमा समाप्ति, गाजामा इजरायलले सुरक्षा नियन्त्रण र हमास वा प्यालेस्टाइनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकारको प्रस्ताव अघि सारेको छ ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले यस निर्णयलाई सार्वजनिक नगरेको भए पनि एक्जिओस समाचार सञ्जालले यसबारे खुलासा गरेको हो। रिपोर्ट अनुसार इजरायली सुरक्षा क्याबिनेटले हमासलाई सिध्याउने गरी गाजामा सैन्य कारबाहीको तयारी गर्न इजरायली सेनालाई आदेश दिएको छ।

समाचार संस्था अल जजीराका अनुसार गाजा कब्जा गर्ने लामो योजनाअनुसार नै सुरक्षा क्याबिनेटले यस्तो प्रस्तावलाई स्वीकृति दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नेतन्याहूको यो योजनालाई समर्थन गरेको ठानिएको छ। सन् २०२३ को सेप्टेम्बरबाट इजरायलले गाजामा जारी राखेको आक्रमणमा झण्डै ६२ हजार मानिस मारिएका छन्।

फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहुले भनेका छन्, ‘हामी गाजाको पूर्ण नियन्त्रण लिन चाहन्छौं, तर स्थायी शासन गर्न होइन। हामी त्यहाँ सुरक्षा घेराको व्यवस्था मात्र चाहन्छौं।’

उनका अनुसार इजरायलले गाजा अरबी शक्तिहरूलाई हस्तान्तरण गर्ने सोच बनाइरहेको छ, तर ती कुन देश हुनसक्छन् भन्नेबारे उनले खुलासा नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसैबीच, इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सिटीमाथिको सैन्य अधिग्रहणको प्रस्ताव स्वीकृत गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै अक्सिओस रिपोर्टले जनाएको छ।

गाजामा अहिले त्यहाँ चरम भोकमरीको अवस्था छ। इजरायलले थल तथा हवाई आक्रमण गरेर दै​निकजसो दर्जनौँ मानिसको ज्यान लिइरहेको छ। अहिले भने गाजा कब्जा नै गर्ने गरी आक्रमण शुरु गर्ने तयारी गरेसँगै मानवीय हताहती थप बढ्ने भन्दै विभिन्न देशले चिन्ता व्यक्त गर्न थालेका छन्।

यस योजनाअनुसार इजरायली सेनाले गाजा सिटीमा नियन्त्रण लिन व्यापक तयारी गर्नेछ। मन्त्रिपरिषद्को यो निर्णयसँगै गाजामा हालसम्मको सैन्य कारबाही अझै तीव्र हुने संकेत मिलेको छ।