काठमाण्डु — संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा क्षेत्रमा औपचारिक रूपमा अनिकालको घोषणा गरेको छ। मध्यपूर्वमै पहिलोपटक अनिकाल परेको हो। करिब ५ लाख मानिस ‘विनाशकारी’ भोकमरी को सामना गरिरहेका छन्।
संयुक्त राष्ट्रका अधिकारीहरूले इजरायलले सहायता वितरणमा सुनियोजित अवरोध गरेको आरोप लगाएका छन्। तर इजरायली विदेश मन्त्रालयले भने यो घोषणा हमासको प्रचारमा आधारित झूट भएको बताउँदै गाजामा अनिकाल नभएको दाबी गरेको छ।
अनिकालको मूल्यांकन इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभले गरेको हो। यसले २० प्रतिशत भन्दा बढी घरधुरीमा चरम खाद्यान्न अभाव, ५ वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित, र प्रत्येक १० हजार मानिसमा दैनिक कम्तीमा दुई जनाको मृत्यु हुने अवस्था देखिएपछि अनिकाल घोषित गरेको हो।
आईपीसीको प्रतिवेदनअनुसार सन् २०२५ अगस्ट १५ सम्ममा गाजाको सम्पूर्ण प्रशासनिक क्षेत्र अनिकाल चरणमा प्रवेश गरिसकेको छ। अहिले गाजामा करिब १० लाख मानिस बसोबास गर्छन्, जसमा आधाभन्दा बढी भोकमरीको चरम अवस्थासँग जुधिरहेका छन्।
प्रतिवेदनले चेतावनी दिएको छ कि सेप्टेम्बरको अन्त्यसम्म देइर अल–बालाह र खान युनिस सम्म फैलँदै अनिकालले गाजाको तीनचौथाईभन्दा बढी जनसंख्या झन्डै ६.४ लाख मानिस — लाई असर गर्नेछ।
संयुक्त राष्ट्रका निकायहरूका अनुसार यो संकट पूर्ण रूपमा मानव सिर्जित हो। द्वन्द्व, विस्थापन, र खाद्यान्न तथा औषधि आपूर्तिमा कठोर प्रतिबन्धले अवस्था भयावह बनेको हो। मार्चमा इजरायलले गाजामा राहत आपूर्ति पूर्ण रूपमा रोकेको र मेदेखि मात्र अत्यन्त सिमित मात्रामा अनुमति दिएको थियो।
मानवअधिकार प्रमुख भोल्कर तुर्क ले चेतावनी दिएका छन् स् “भोकमरीलाई युद्धको विधिका रूपमा प्रयोग गर्नु युद्ध अपराध हो।”




प्रतिक्रिया