काठमाण्डु- गाजामा घोषणा गरिएको युद्धविराम एउटा महत्वपूर्ण उपलब्धि हो । यो बहुप्रतीक्षित थियो ।
गत वर्षको मे महिनादेखि नै विभिन्न खालका सम्झौता अघि सारिएका थिए । विलम्बका लागि हमास र इजरायलले एकअर्का दोषारोपण गरेका थिए ।
हमासले अक्टोबर २०२३ मा इजरायली भूमिमा अप्रत्याशित आक्रमण गर्दा १,२०० जनाजतिको मृत्यु भयो । तीमध्ये अधिकांश व्यक्ति सर्वसाधारण थिए । उक्त घटनापछि इजरायलले गरेको प्रत्याक्रमणमा परेको गाजा तहसनहस भएको छ । बीस लाखभन्दा बढी गाजावासी विस्थापित भएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलामा परेर सर्वसाधारण नागरिक र लडाकुहरूसहित झन्डै ५०,००० जनाको मृत्यु भएको छ । मेडिकल जर्नल ‘लान्सिट’ मा प्रकाशित एउटा अध्ययनका अनुसार उक्त संख्या वास्तविकताभन्दा निकै कम हुन सक्छ ।
अहिलेको सबैभन्दा मुख्य चुनौती भनेको युद्धविरामलाई निरन्तरता दिनु हो ।
पाश्चात्य देशका वरिष्ठ कूटनीतिज्ञहरू ४२ दिन कायम रहने पहिलो चरणको युद्धविरामपछि युद्ध फेरि सुरु हुन सक्ने चिन्तामा छन् ।
मध्यपूर्वमा गाजा युद्धको व्यापक असर परेको छ । मध्यपूर्वमा भएको लडाइँ फैलिएर क्षेत्रीय युद्ध बन्ने डर धेरैलाई थियो । तर त्यसो भएन । बाइडन प्रशासनले त्यसो नहुनुमा आफ्नो भूमिका रहेको दाबी गरेको छ ।
तर यो द्वन्द्वले भूरणनीतिक उथलपुथल ल्याइदिएको छ । हमास अझै लड्न सक्षम छ । तर उक्त समूह अहिले आफ्नो विगतको छाया मात्र हो । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र उनका पूर्वरक्षामन्त्रीलाई ‘युद्ध अपराध’को अभियोग लगाएको छ ।
इजरायलले नरसंहारको आरोप लगाउँदै दक्षिण अफ्रिकाले दायर गरेको मुद्दामा इन्टनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)ले अनुसन्धान गरिरहेको छ ।
लेबननको लडाकु समूह हिज्बुल्लाह पनि यस युद्धमा जोडिएन पुग्यो । तर इजरायलले गरेको कारबाहीबाट उक्त समूह नराम्ररी थलिएको छ ।
यो युद्धले नै सिरियामा बशर अल–असदको शासन अन्त्य हुने अवस्था निम्तिन पुग्यो । इरान र इजरायलले एकअर्कालाई सोझै आक्रमण गर्दा इरान कमजोर हुन पुग्यो ।
तेहरानले ‘एक्सिस अफ रेजिस्टन्स’ भन्ने गरेको उसको सञ्जाल र प्रोक्सीहरू नराम्ररी कमजोर बन्न पुगे । यमनका हूथीहरूले ‘रेड सी’मार्फत् हुने युरोप र एशियाबीचको धेरैजसो समुद्री व्यापारलाई अवरोध पुर्यायो ।
हूथी समूहले गाजामा भएपछि हमला नगर्ने वाचा गरेको छ । तर त्यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी नै छ ।
जति हिंसा भए पनि भाग्य, राजनीतिक इच्छाशक्ति र कठिन कूटनीतिक प्रयास भयो भने युद्धविरामले निरन्तरता पाउन सक्छ । त्यसले हत्याको शृङ्खला रोक्ला अनि इजरायली बन्धक तथा प्यालेस्टिनी बन्दीहरूलाई आआफ्ना परिवारसँग पुनर्मिलनको अवसर पाउलान् ।
इजरायल र प्यालेस्टिनीहरूबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । १५ महिना चलेको गाजा युद्धपछि पनि दुई पक्षबीच तिक्तता बाँकी नै छ र दुःसाध्य देखिन्छ ।
यो युद्धविरामले एक शताब्दीभन्दा पुरानो द्वन्द्व भने अन्त्य गर्दैन । यो युद्धले निम्त्याएको भौतिक विनाश र मानवीय क्षति कम्तीमा एक पुस्ताले अनुभूत गर्ने छ । बीबीसी रिपोर्टमा आधारित




प्रतिक्रिया