काठमाण्डु – भारतका अवकासप्राप्त मेजर जेनरल जीडी बख्सीले भारतीय कांग्रेसको नेतृत्वमा भारतले तत्कालीन माओवादीहरूलाई सत्तामा आउन र विश्वको एक मात्र हिन्दू राज्यको अन्त्य गर्न मद्दत गरेर ठूलो स्वार्थ हासिल गरेको टिप्पणी गरेका छन् ।
नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं फर्कने क्रममा उनको स्वागतमा हजारौंको भीड उपस्थित भएको सन्दर्भलाई जोड्दै बख्सीले भनेका छन्, ‘ गत महिना नेपालका धेरै शहर र गाउँहरूमा राजाको समर्थनमा र् यालीहरू भएका छन् । सन् २००७ मा मैले एनडीसी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउँदादेखि नै भन्दै आएको छु–कांग्रेसको नेतृत्वमा भारतले माओवादीहरूलाई नेपालमा सत्तामा आउन र विश्वको एक मात्र हिन्दू राज्यको अन्त्य गर्न मद्दत गरेर ठूलो स्वार्थ हासिल गरेको थियो ।’
बख्सीले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपालका जनता अब माओवादीहरूको षड्यन्त्रबाट वाक्क भइसकेका छन्, उनीहरू सबैभन्दा बढी भ्रष्ट साबित भएका छन् । जनता राजाको पुनरागमनका लागि आतुर छन्, चाहे त्यो कुनै पनि रूपमा होस्, संवैधानिक राजा होस्, सांस्कृतिक राजा होस्, राजनीतिक दलको संरक्षक होस्–जेसुकै होस् ।’
बख्सीले नेपालका राजा जनताका लागि विष्णुको प्रतीक रहेको जनाउँदै नेपालमा हिन्दू राज्य पुनस्र्थापित गर्ने प्रमुख तत्व पनि रहेको तर्क गरेका छन् । ‘अन्ततः नेपालका जनता माओवादी र कम्युनिष्टहरू विरुद्ध उठेका देखिन्छन्, जसको वफादारी नेपालसँग भन्दा चीनसँग बढी छ’, उनले भनेका छन् ।
पूर्वराजाको स्वागतार्थ भएका र्यालीमा योगी आदित्यनाथका पोस्टर पनि देखिएको उल्लेख गर्दै उनले नेपाली जनताको मुक्ति र हिन्दू राज्यको पुनस्र्थापनाका लागि प्रार्थना गरेका छन् ।





प्रतिक्रिया