घाइते जेनजीसँग प्रधानमन्त्री : भ्रष्टाचारीलाई कठोर कारवाही नभए अर्को आन्दोलन गर्ने चेतावनी

घाइते जेनजीसँग प्रधानमन्त्री : भ्रष्टाचारीलाई कठोर कारवाही नभए अर्को आन्दोलन गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् ।

मंगलबार बिहान साढे १० बजे सुरु भएको छलफल दिउँसोसम्म चलेको हो ।

घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको छ । घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसविरुद्ध हामीले आन्दोलन गरेका थियौं, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानून र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौं ।’

गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए । ‘तपाईं चुनाव चुनाव मात्र भनिरहनुभएको छ । के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो ?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो ।

छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं । प्रक्रियासम्मत ढंगले कानूनी रुपमा तल नपर्ने गरी हामी काम गर्छाैं । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौं । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आ–आफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईंहरू बोल्न नछाड्नुहोस् । हामीलाई दबाब दिन पनि नछाड्नुहोस् । हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले के–के बोलिरहेका छन्, सुन्नुभएकै होला ।’

घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए ।