‘जेनजीका माग सम्बोधन नगरी हुने निर्वाचनले अर्को विद्रोह निम्त्याउने निश्चित छ’

‘जेनजीका माग सम्बोधन नगरी हुने निर्वाचनले अर्को विद्रोह निम्त्याउने निश्चित छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त जेनजी आन्दोलनका अगुवाहरूले निर्वाचनको विरोधी नभए पनि आफूहरूका माग सम्बोधन नगरी हुने निर्वाचन स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजी ‘अजय सोडारी’सँग सरकारले गरेको ६ बुँदे सम्झौत कार्यान्वयन गर्न ढिलाइ गरेकोप्रति रोष व्यक्त समेत गरेका छन् ।

संयुक्त जेनजी आन्दोलनका सहसंयोजक अजय सोडारीले आफू ११ दिनसम्म अनसान बसेपछि सरकारकारले माग पूरा गर्ने सम्झौता गरे पनि कार्यान्वयन नगरेको आक्रोश व्यक्त गरे । ‘म र सरकारबिच भएको ६ बुँदे सम्झौता सिरानीमा राखेर बेचैन मुद्रामा छु – यो सम्झौताको भारी बोकेर जेनजी विरोधी निर्वाचनको दिन गन्ति गर्नुपर्ने हो,’ सोडारीले सरकारलाई प्रश्न गरे ।

सरकारले १० दिनमा पूरा गर्छु भनेर आफ्ना माग र मुद्दामाथि बुट बजारेको आरोप लगाउँदै सोडारीले भने, ‘हाम्रा ७६ जना साथीहरूले देशका लागि बलिदान गरे, ज्यान दाउमा रखेका कैयौ घाइते तथा अपाङ्ग भए, म हस्पिटलको बेडबाट कोठाको बेडसम्म आएको छु । फेरि पनि जेलको काल कोठरीसम्म जान तयार छौं, तर मागप्रति प्रतिबद्ध छौं ।’

आन्दोलनका कमाण्डर सुनिल सिंहले आफूहरू निर्वाचानको विरोधी नभए पनि जेनजीका माग सम्बोधन नगरी गरिने चूनाव स्वीकार्य नहुने चेतावनी दिए । ‘हामीले बारम्बार भनेका छांै, चुनाव विरोधी हुँदै होइनौं तर जेनजीका हत्यारालाई कारवाही, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, भ्रष्टाचारीलाई कारवाही लगायतका मुद्दा सम्बोधन नगरी हुने निर्वाचन हुन सक्दैन,’ सिंहले भने । सिंहले निर्वाचन बिथोल्न अरुले अराजकता मच्चाएको र आफूहरूलाई आरोप लगाउने कार्य गलत भएको बताउँदै भने, ‘परिवर्तन विरोधीले झण्डा जलाउने तोडफोड गर्ने अनि हामीहरूलाई जेल कोच्ने यो सह्य छैन ।’

बालेन शाहप्रति इङ्गित गर्दै सिंहले भने, ‘१ जना र्‍यापरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर देशलाई विदेशी गुलाम बनाउने षड्यन्त्र हुँदैछ, त्यसको हामी कडा प्रतिवाद गर्छौं ।’ नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले यथास्थितिमा हुने निर्वाचनले देशलाई थप भड्कालोमा लग्ने पक्का भएकाले त्यसलाई रोक्नुपर्ने धारणा राखेका छन् ।

सुशीला सरकारको प्रस्तावित स्वास्थ्य मन्त्री डा.जगत विकले यही तरिकाको निर्वचान गर्नुले जेनजीको क्रान्तिको भावना विपरीत हुने जनाए । मेयर पद त्यागेर प्रधानमन्त्रीको दौडमा लागेका बालेन शाहको कार्य गलत भएको बताउँदै विकले भने, ‘सो कल्ड प्रधानमन्त्री मात्रै हुन्, उनी प्रम बन्दैनन् तर देशलाई अस्थिरतामा धकेल्न यिनको पनि भूमिका छ ।’

जेनजी सल्लाहकार लेनिन विष्टले आफूहरूले सर्वपक्षीय सहमतिको सरकारमार्फत जेनजीका माग पूरा गरेर मात्रै निर्वाचानमा जानुपर्नेमा जोड दिए । जेनजी आन्दोलनलाई ‘हाइँज्याक’ गरेर बनेको सरकारका अधिकाशं व्यक्तिहरू रास्वपाका उम्मेदवार हुनुले, आन्दोलन ‘हाइज्याकर’ रास्वपा नै भएको उनको दाबी छ ।

जेनजी प्रकाश बमले रगतको होली खेलेर बनेको सरकारले जेनजीका कुनै पनि माग तथा मुद्दाहरू सम्बोधन नगरी देशलाई निर्वाचनमा धकेलेको आरोप लगाए । काठमाण्डु २ का स्वतन्त्र उम्मेदवार अनुप बोहराले यथास्थितिमा हुन लागेको निर्वाचनले देशलाई निकास दिनेभन्दा झन् द्वन्द्वमा फसाउने दाबी गरेका छन् । आफूले जनतालाई सोबारे बुझाउन घरदैलो कार्यक्रम जुराउन मात्रै उम्मेदवारी दिएको बताए ।

जेनजी सुजन पौडेलले यथास्थितिमा हुने निवार्चनलाई जनताले प्रतिवाद गर्ने र त्यसबाट देशलाई क्षति हुने संकेत रहेको बताए । सोबाट हुने क्षतिको जिम्मेवार सुशीला कार्की सरकार हुने चेतावनी दिए ।