घाइते जेनजीको खबरदारी : रगतमाथि खेलबाड नहोस्

घाइते जेनजीको खबरदारी : रगतमाथि खेलबाड नहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफूहरूको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् ।

उनीहरू आफंैले कसैलाई सत्तामा पुर्‍याउनुभन्दा पनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान गरेको बताए ।

शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरूले कसैलाई कुर्सीमा पुर्‍याउनका लागि आन्दोलन नगरेको बताए ।

उनले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्यायोजना बनाउनुपर्ने माग समेत गरे । अहिले सरकारले दिएको सहयोग प्राप्त नहुने समेत बताए ।

घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरू त्रासको वातावरणमा बसेको बताए । उनले घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरूको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरू पनि सडकमा निस्किन बाध्य हुने चेतावनी समेत दिइन् ।

घाइते आफन्त सरस्वती रावलले घाइतेहरूले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् ।

कार्यक्रममा पूर्णबहादुर भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताउँदै बलिदान खेर जाने अवस्था आउन नदिन सबै लाग्नुपर्ने बताए ।

जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताको लागि आफूहरूले रगत बगाएको, विज्ञहरूको मन्त्रिपरिषद्, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्य नि:शुल्क २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग रहेको बताइन् । आफूहरूका माग पूरा नभए आन्दोलन जारी रहने चेतावनी समेत दिइन् ।

कार्यक्रममा जेनजी आन्दोलनका अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न भएको थियो । देशको बनाउन जन्मेका युवा भएको बताउँदै आफूहरूको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले ताकीताकी गोली चलाएको बताए ।

सरकारले गोली हान्ने आदेश नदिएको भन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा रावलले भने, ‘सरकारले गोली हान्ने आदेश दिएको होइन कसले गोली हानेको हो ? छानबिन गर्नुपर्छ ।’ उनले भ्रष्टाचार, कुशासनको विरुद्ध शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिएको बताए ।

रावलले प्रत्यक्ष कार्यकारी निर्वाचित शासकीय स्वरूप हुनुपर्ने बताउँदै त्यसको लागि संविधान संशोधन गरेरै भए पनि जनताबाट निर्वाचित प्रधानमन्त्रीको चुनाव हुनुपर्ने बताए । उनले सहिद र घाइतेको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताए ।

घाइते पत्रकार प्रेमराज राइका दाई पत्रकार चन्द्र ओमबुलेले घाइते पत्रकारलाई पनि वेवास्ता गरिएकोप्रति रोष व्यक्त गरेका छन् ।