काठमाण्डु – सामाजिक सञ्जाल बन्दको विरोधमा कोशी प्रदेशमा पनि जेनजी पुस्ताले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएका छन् । यो प्रदर्शन विराटनगरसहित इटहरी, धरान, इनरुवा, दमक, बिर्तामोडलगायत प्रमुख सहरहरूमा हुनेछ ।
विराटनगरमा बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन सुरु हुनेछ । दिउँसो महेन्द्र चोकमा ठूलो भेला गरेर प्रदर्शन गर्ने योजना छ । प्रदर्शनका लागि युवाले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत सार्वजनिक आह्वान गरेका छन् ।
सहभागीहरूलाई हातमा पुस्तक र पम्पलेट बोकेर, कापी–किताब, स्कुल वा कलेजको पोसाकमा उपस्थित हुन अपिल गरिएको छ । प्रदर्शन एकदेखि दुई घण्टासम्म चल्ने बताइएको छ ।
यसबीच, विराटनगरमा सुरक्षा सतर्कता बढाइएको छ । प्रहरीले सम्भावित भीड नियन्त्रणका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
सामाजिक सञ्जाल बन्द, अभिव्यक्ति स्वतन्त्रताको हनन् र बढ्दो भ्रष्टाचारविरुद्ध यो प्रदर्शन देशव्यापी बन्दै गएको छ । जेनजी आन्दोलन भनेर चिनिन थालेको यस अभियानमा सहभागी युवाले सोमबार काठमाण्डुमा पनि ठूलो प्रदर्शन गर्ने तयारी गरेका छन् ।




प्रतिक्रिया