काठमाण्डु – राजधानीमा सुरु भएको जेन जीको प्रदर्शन देशैभर फैलिएको छ । विभिन्न शहरहरूमा स्वस्फूर्त रुपमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरू भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै पोखराको सभागृहमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् । सभागृहमा भेला भएका जेन जी पुस्ताको प्रदर्शनमा संख्या बढ्दै गइरहेको छ ।
देशमा भ्रस्टाचारमा नेताहरू लिप्त भइरहेको तर नागरिकले भने अनेक दु:ख खेप्नु परिरहेको आवाज उनीहरूले उठाएका छन् ।
यस्तै सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’ जस्ता नारा लगाएका छन् ।
यसैगरी, धनगढीमा पनि जेन जी पुस्ताले सामाजिक सञ्जाल बन्दविरुद्ध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेट अगाडि विभिन्न ब्यानरसहित उनीहरूले प्रदर्शन गरिरहेका छन् ।
‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐश होइन’, ‘जनताको आवाज रोकिँदैन कहिल्यै’ लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
चितवनमा पनि युवाहरूले प्रदर्शन गरिरहेका छन् । यसैगरी पूर्वका शहरहरू विराटनगर, इटहरी, धरान, दमकमा पनि जेन जी पुस्ताले प्रर्दशन गरिरहेका छन् ।








प्रतिक्रिया