भारतीय सेनाध्यक्ष विपीन नेपालमा, राष्ट्रपतिदेखि प्रधानमन्त्रीलाई भेट्ने


काठमाडौं– भारतीय सेनाध्यक्ष विपीन रावत नेपाल आएका छन्।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा रावत ३ दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार काठमाडौं पुगेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरे।

नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा मंगलबार आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन उनी नेपाल आएको नेपाली सेनाले जनाएको छ। उनी बुधबार भारत फर्किनेछन्।

नेपाल भ्रमणमा रहँदा रावतले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, उनले प्रधानसेनापति क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नुको साथै नेपालका केही महत्वपूर्ण धार्मिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास सेनाले लिएको छ।

बेलायती सेना प्रमुख फर्किए

यसैबीच, बेलायती आर्मी चिफ निकोलस प्याट्रिक कार्टर स्वदेश फर्किएका छन्। गत बुधबार नेपाल आएका उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले बिदाई गरे।

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग कार्यालयमै गएर भेट गरेका उनले पोखरामा आयोजित गोर्खा रिक्रुटको परेडमा भाग लिएका थिए।

गत बिहीबार नेपाल आएका अमेरिकी चार तारे जर्नेल तथा प्यासिफिक कमान्डर रोबर्ट ब्रक्स ब्राउन आइतबार स्वदेश फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement