काठमाण्डु – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।
आईतबार ३ जना घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो ।
घाइते परिचयपत्र वितरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले हालसम्म ५६ जना घाइतेलाई परिचयपत्र वितरण गरिएको जानकारी दिए ।
‘अस्पतालमा उपचाररत, घरमै बेड रेस्टमा रहेका र आउन सक्ने अवस्थाका आन्दोलनकारीहरूलाई परिचयपत्र वितरण गरेका छौं,’ रिजालले भने, ‘सबैलाई गरेर ५६ जनालाई अहिलेसम्म नेपाल सरकारको निर्णय भएअनुसार २० हजार रुपैयाँ राहत र घाइते परिचयपत्र वितरण गरेका छौं । आईतबार ट्रमा सेन्टरमा ३ जनालाई घाइते परिचयपत्र वितरण गर्यौं ।’
उनका अनुसार आईतबार मात्र ट्रमा सेन्टरमा थप ३ जनालाई घाइते परिचयपत्र वितरण गरिएको छ । अन्य घाइतेहरुले जानकारी गराएअनुसार उनीहरूलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ ।
सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, राहत र पहिचानका लागि परिचयपत्र वितरण थालेको छ । जेनजी घाइते कार्ड पाएपछि घाइतेहरूले अन्तरिम सरकारले सोचेअनुसार काम गर्न नसकेको दुखेसो व्यक्त गरे । उनीहरूले देशभर सयौं घाइतेहरू उपचाररत रहे पनि सरकारले ध्यान नदिएको बताए ।
जेनजी घाइते कार्ड वितरणमा जेनजी डाक्टर जगत विकले समन्वय गरिरहेका छन् । उनले आफूले नै कार्डको अवधारणा ल्याएको दाबी समेत गरेका छन् ।




प्रतिक्रिया