जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्नेलाई कारवाही गर्न गृहमन्त्री अर्यालसमक्ष निवेदन

जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्नेलाई कारवाही गर्न गृहमन्त्री अर्यालसमक्ष निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले जेनजी आन्दोलनका नाममा भएको आगजनी, तोडफोड, लुटपाट तथा आतंक फैलाउने कार्यमा संलग्नलाई कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष लिखित निवेदन बुझाएका छन् ।

तिमिल्सिनाले गृहमन्त्रीलाई दिइएको निवेदनमा आन्दोलनमा प्रवेश गरेका अराजक तत्वले देशका विभिन्न स्थानमा सार्वजनिक र निजी सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको, नागरिकमाथि निर्मम आक्रमण र आतंक फैलाइएको उल्लेख छ ।

सामाजिक सञ्जालमा देखिएका फोटो, भिडियो तथा प्रहरीलाई प्राप्त सूचनाका आधारमा केही व्यक्तिहरू पक्राउ गरिएकामा मन्त्रालयद्वारा जारी निर्देशनले ती प्रक्रिया रोकिन पुगेको दाबी निवेदनमा गरिएको छ । निवेदनमा लेखिएको छ, ‘यस्तो गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदीपूर्ण बनेको छ, नेपालको संविधान बमोजिम प्राप्त मौलिक हक तथा मानव अधिकारको हरण भएको छ र शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी शान्ति सुरक्षामा प्रतिकूल असर परेको छ ।’

तिमिल्सिनाले मुलुकी अपराध संहिता, संगठित अपराध निवारण ऐन, स्थानीय प्रशासन ऐन र सार्वजनिक सम्पत्ति (संरक्षण) ऐन लगायतका प्रचलित कानूनी प्रावधानहरू लागू गरी घटनामा संलग्न सबैलाई छानबिन गरी कडा कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । तोडफोड, आगजनी र लुटपाटबाट प्रभावित पीडितलाई न्याय दिलाउन र सार्वजनिक तथा निजी सम्पत्ति तथा नागरिकको शान्ति सुरक्षाको संरक्षणका लागि प्रभावकारी निवारक उपाय तुरुन्त लागू गर्न पनि माग गरिएको छ ।

आन्दोलनलाई अनियन्त्रित छोड्दा अपराधकर्मीको मनोबल बढ्ने र नेपाल प्रहरी लगायत सुरक्षाकर्मीको मनोबल घट्ने भएकाले विधिको शासन स्थापना गर्न उनले माग गरेका छन् । तिमिल्सिनाले विध्वंशात्मक गतिविधि मात्र नभई ती गतिविधिका योजनाकार र प्रेरकहरूलाई समेत कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।