काठमाण्डु – शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेनजी युनाइटेड समूहले आपत्ति जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै जेनजी युनाइटेडका अगुवाहरूले सरकारको विरोध गरेका हुन् ।
जेनजी युनाइटेडका अगुवा सागर तामाङले आफूहरूलाई सरकारले युनिफिकेसन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरूलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘हामी जेनजीहरू आन्दोलन गर्दैगर्दा युनिफिकेसन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरूलाई छोड्नुपर्यो । हाम्रो मागहरू छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेसन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’
अर्का वक्ता मन्जना राईले जेनजीले बनाएको सरकारले जेनजीलाई नै टुक्रा–टुक्रा बनाउन चाहेको टिप्पणी गरिन् । ‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरूलाई लछारपछार गरेर लगिएको छ । जेनजीले बनाएको सरकार छ । जेनजीलाई नै टुक्रा–टुक्रा बनाउनका लागि बनाइएको सरकार हो त्यो ?’ प्रश्न गर्दै उनले भनिन् ।
आफूहरूले भोलि पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सि देशैभर नै रणनीति बनाएर अगाडि बढ्ने उनीहरूको भनाइ छ । जेनजी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेनजीहरूको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दबाउन खोजेको बताए । घाइते र सहिदहरूको रगतमा उभिएर बनेको सरकारले जेनजीमाथि नै दमन गरिरहेको उनले बताए ।




प्रतिक्रिया