काठमाण्डु– त्रिशुली– भोटेकोशी बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि जर्मनीले करिब ८० लाख युरो बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
काठमाण्डुस्थित जर्मन दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्कालीन मानवीय सहायता, विकास सहयोग तथा युरोपेली संघ र बहुपक्षीय संयन्त्रमार्फत हुने सहयोगलाई समेत समेटेर नेपाललाई उक्त राषिको सहयोग उपलब्ध गराउन लागिएको जनाएको हो ।
तत्काल आवश्यक पर्ने राहत सामग्रीका लागि जर्मनीले ५ लाख युरोभन्दा बढी रकम बराबरको सहायता उपलब्ध गराइसकिएको विज्ञप्तिमा छ । नेपाल सरकारको अनुरोधमा युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत ती सामग्री नेपाल ल्याइँदै गरिएको दूतावासले जनाएको छ ।
राहत सामग्रीमा भान्साका सामग्री, त्रिपाल, झुल, खानेपानी आपूर्तिमा प्रयोग हुने उपकरण तथा अस्थायी आवासका लागि आवश्यक खाटलगायत छन् ख। यी सामग्री जर्मन संघीय प्राविधिक सहायता निकाय (टीएचडब्ल्यू) जर्मन परराष्ट्र मन्त्रालय तथा जर्मन लाइफ सेभिङ एसोसिएसन तथा जर्मनीको थुरिङ्गिया राज्यबाट उपलब्ध गराइएको दूतावासले जनाएको छ ।
यस्तै तत्कालीन मानवीय आवश्यकतालाई सम्बोधन गर्न जर्मनीले दुईवटा नागरिक संस्थामार्फत थप २ लाख युरो प्रत्यक्ष सहयोग गर्ने भएको छ ।
विज्ञप्तिमा भनिएअनुसार यसअन्तर्गतको एउटा परियोजनाले बाढीबाट प्रभावित गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य र कल्याणमा केन्द्रित भएर काम गर्नेछ । उनीहरूका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने, अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच कायम राख्ने तथा संक्रमण रोकथामका उपायलाई सुदृढ गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
अर्को परियोजना युरोपेली संघको मानवीय सहायता कार्यक्रमअन्तर्गत सञ्चालन हुनेछ । यसमार्फत विपद् प्रभावित परिवारका लागि आम्दानीका अवसर सिर्जना गर्ने, क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनामा सहयोग गर्ने तथा विस्थापितहरूका लागि बनाइएका शिविरको अवस्था सुधार्ने काम गरिनेछ ।
जर्मनीले बाढीको प्रभाव तत्कालीन राहतमा मात्र सीमित नहुने भन्दै दीर्घकालीन पुनर्निर्माणका लागि विकास सहयोगतर्फ थप ७३ लाख ५० हजार युरो परिचालन गरेको जनाएको छ ।
जर्मन आर्थिक सहयोग तथा विकास मन्त्रालयबाट प्राप्त हुने उक्त रकम जर्मनीको अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय संस्था जीआईजेडमार्फत कार्यान्वयन गरिनेछ ।
नेपाल सरकारसँग लामो समयदेखिको सहकार्यलाई आधार बनाउँदै जीआईजेडले स्वास्थ्य र ऊर्जाका क्षेत्रमा सहयोग गर्नेछ । अत्यावश्यक स्वास्थ्य सेवा, ऊर्जा तथा खानेपानीको पहुँच निरन्तर राख्न सहयोग केन्द्रित हुने दूतावासले जनाएको छ ।
यसका साथै जलवायु तथा विपद् प्रतिरोधी पूर्वाधार विकास र भविष्यमा आउन सक्ने प्राकृतिक विपद्को सामना गर्ने नेपालको क्षमता बढाउनसमेत जर्मनीले दीर्घकालीन सहयोग गर्ने जनाएको छ ।
विपद्पछि संयुक्त राष्ट्रसंघीय केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष (सीईआरएफ) ले २५ लाख अमेरिकी डलर मानवीय सहायता परिचालन गरेको तथा युरोपेली संघले पनि २५ लाख युरो सहयोग परिचालन गरेको जर्मन दूतावासले जनाएको छ ।
जर्मनीले नेपालमा सहयोग गरिरहेका आफ्ना नागरिक संस्था र स्थानीय साझेदारहरूको भूमिकालाई समेत स्मरण गरेको छ । नेपालसँगको सम्बन्धका कारण जर्मनीमा रहेका हजारौं व्यक्तिले सहयोगका लागि आर्थिक योगदान गरिरहेको दूतावासले जनाएको छ ।
स्थानीय तह तथा साझेदार संस्थासँग सहकार्य गर्दै राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन भइरहेकाले आवश्यकतामा रहेका समुदायसम्म सहायता पुर्याउन सहयोग पुग्ने जर्मनीको विश्वास छ ।




प्रतिक्रिया