जर्मनले नेपाललाई पौने ४ करोड युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने

जर्मनले नेपाललाई पौने ४ करोड युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने


काठमाण्डु– जर्मन सरकारले नेपाललाई ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने भएको छ ।

मंगलबार काठमाण्डुमा सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा आगामी दुई वर्षका लागि उक्त रकम बराबरको सहयोग गर्ने भएको हो ।

दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेको काठमाण्डुस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गरेका थिए भने जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रालय (बिएमजेड) को दक्षिण एसिया महाशाखाकी प्रमुख बार्बरा शेफरले गरेका थिए ।

उक्त सहायता रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको प्रवद्र्धन, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, राजस्व क्षेत्र सुधार, गुणस्तरीय पूर्वाधार, लैङ्गिक समानता, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारमा उपयोग गरिने जनाइएको छ ।