काठमाण्डु– नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।
नेता भुसालले मंगलबार ११ पन्ने पत्र बुझाउँदै प्रधानमन्त्री ओलीका कारण एमाले आन्दोलन विसर्जनतर्फ अघि बढेको बताएका छन् । उनले ओलीले पार्टीलाई बन्धक बनाएर सत्ता र शक्तीको भोग मेटाएको आरोप लगाएका छन् ।
‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्,’ उनले पत्रमा भनेका छन्, ‘पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’
त्यस्तै उनले केन्द्रीय कमिटीको बैठकको सूचना र कार्यसूची तीन दिन अगाडि नै केन्द्रीय सदस्यलाई दिनुपर्ने भएपनि त्यसो नगरिएको बताएका छन् । यद्यपि संसदीय दलको बैठकमा ओलीले कसैलाई खबर नपठाएको दाबी गरेको भन्दै उनले भनेका छन्, ‘तपाईको दाबी शतप्रतिशत झूठो हो । तपाईंको आफ्नै गुटका सदस्यहरुलाई पठाइएको मेसेजमा समेत केन्द्रीय कमिटीको बैठक भनेर खबर गरिएको थिएन ।’
नेता भुसालले ओलीले यस्तो झूट पटकपटक बोलेको बताएका छन् । ‘मेरो चुनौतीपूर्ण प्रस्ताव छ, एउटा जाँच कार्यदल गठन गरौं र नेपाल टेलिकमबाट तथ्यहरु मागौं । उक्त मेसेज कुन–कुन व्यक्तिलाई गएको छ वा त्यसबाहेक अरु के सूचना जारी भएको खोजी गरौं, तपाईले झूटो बोल्नु भएको प्रमाणित भइहाल्छ ।’




प्रतिक्रिया