काठमाडौं – कृषि मन्त्री घनश्याम भूसालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्ठी (नेकपा)मा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छन् ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका भूसालले नहडबडाई संवाद गरेर संस्थागत प्रणालीभित्रै समाधान खोज्न सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘पहिलो, नहडबडाउँ, दोस्रो संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।’
अहिले देशले सबै पार्टी सदस्यबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउँदै उनले त्यो सुझाव व्यक्त गरेका हुन् ।
‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो,’ भूसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो ।’
समस्याले उपयुक्त समाधान खोज्ने र अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने बताउँदै उनले भनेका छन्, ‘आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ । र यसमा समस्या थपिँदै गएका छन् ।’




प्रतिक्रिया