नेकपा संयुक्तको घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

नेकपा संयुक्तको घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक भएको छ ।

मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेकोे हो ।

घोषणापत्रमा भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्नेे बताइएको छ । उद्यमी राष्ट्र निर्माणको पहिलो शर्त भ्रष्टाचारमुक्त राजनीति रहेको भन्दै घुस नखानेको पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणा पत्रमा भनिएको छ, ‘हामीमाथि भ्रष्टाचारको आरोप नलाग्ने गरी अन्तर्राष्ट्रिय मञ्चमा उभिनसक्ने नेतृत्वबिना हामीले अरूमाथि प्रश्न गर्न सक्दैनौँ । त्यसैले उद्यमी राष्ट्र निर्माणको पहिलो शर्त भ्रष्टाचारमुक्त राजनीति हो । त्यसैले भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्छ । त्यसैलाई हामीले चलनचल्तीको भाषामा र सांकेतिकरूपमा ‘घुस नखाने राजनीति, घुस नखाने पार्टी’ भनेका हौँ ।’

अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रूपमा रहेका पुराना शक्तिहरूले आफ्नो अयोग्यता सावित गरिसकेको र नयाँ पार्टीलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह नरहेको नेकपाको भनाइ छ । नेकपा संयुक्त वर्तमान समयको मागलाई पूरा गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

‘अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रूपमा एकातिर ती पुराना शक्तिहरू छन् । जसले आफ्नो अयोग्यता सावित गरिसकेका छन् । अर्कोतर्फ ती नयाँ पार्टी छन्, जसलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह छैन । मानौँ उनीहरू रङ्गमञ्चमा आएपछि मात्रै नेपाली राजनीतिको इतिहास सुरु भएको हो । यसरी नेपालको राजनीति अँध्यारोतर्फ जाँदैछ, दुर्घटनातर्फ जाँदैछ । यस्तो अवस्थामा मुलुकले बिचौलियातन्त्रका सहयोगी तथा आन्तरिक लोकतन्त्र मरिसकेका पुराना ठूला पार्टीहरूको विकल्प खोजेको छ । नयाँ भनिने सिद्धान्तहीन, विचारहीन, पपुलिष्ट पार्टीहरूको पनि विकल्प खोजेको छ । यो राष्ट्रिय राजनीतिक निराशालाई चिर्न सक्ने नयाँ क्रान्तिकारी शक्तिको आशा गरेको छ । हाम्रो पार्टी नेकपा संयुक्त समयको त्यस मागलाई पूरा गर्न प्रतिबद्ध छ । आन्तरिक लोकतन्त्रलाई ग्यारेण्टी गर्दै दलाल पुँजीवादसँग लड्न संकल्पबद्ध छ,’ घोषणा पत्रमा लेखिएको छ, ‘अब सित्तैमा कसैले दिँदैन र कसैले दियो भने पनि बिनाशर्त दिँदैन । हाम्रो राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठूलो तगारो हो । अब हामीले भन्न सक्नुपर्छ । हाम्रा आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग लिँदैनौँ ।’