गठबन्धनमा देखिएको सकसले कास्कीमा एमाले उत्साहित, दोहोरिएला २०७४ को नतिजा ?

गठबन्धनमा देखिएको सकसले कास्कीमा एमाले उत्साहित, दोहोरिएला २०७४ को नतिजा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कास्कीमा एक महानगरपालिका र चारवटा गाउँपालिकासहित पाँचवटा स्थानीय तह छन् । पर्यटकीय नगरी पोखरा महानगरपालिकासहित जिल्लाभर नै दलहरूले उम्मेदवारी दर्ता गरेका छन् । कास्कीमा एमालेको वर्चस्व देखिन्छ । गत चुनावमा जिल्लाका अधिकांश तहमा एमालेले जित निकालेको थियो ।

कांग्रेस बल्लतल्ल एउटा पालिकाको प्रमुख जित्न सफल भएको थियो । एमालेले पोखरा महानगरको मेयर–उपमेयरसहित रूपा, मादी र माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष नै जित्यो । उसले अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षसमेत जित्यो । कांग्रेसले अन्नपूर्णको अध्यक्षमा चित्त बुझायो । कास्कीमा ठिकै प्रभाव भएका माओवादी र जनता समाजवादी पार्टीले कतै जित्न सकेनन् ।

आगामी चुनावमा पनि जिल्लामा एमाले नै बलियो देखिन्छ । सत्ता गठबन्धनबीच तालमेल हुँदा पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । अन्य स्थानीय तहमा भने कांग्रेसले एक्लै लड्ने भन्दै उम्मेदवारी दिएको छ । पोखरा महानगरमा तालमेल इमानदारिताका साथ कार्यान्वयन भए प्रतिस्पर्धा हुने सम्भावना छ । यद्यपि, आफूले मेयर नपाएपछि कांग्रेस कार्यकर्तामा असन्तुष्टि देखिन्छ ।

एमालेमा पनि तीव्र विवाद छ । त्यसकै कारण पहिले घोषणा गरिएका उम्मेदवार परिवर्तन गरिएको छ । पोखरा महानगरमा अघिल्लोपटक पनि कांग्रेस र माओवादीले तालमेलको निर्णय गरेका थिए, तर कार्यान्वयन भएन । यसपटक पनि गठबन्धनकारी दलभित्रै तीव्र असन्तुष्टि देखिन्छ । आफूहरूलाई पाखा लगाइएको भन्दै जनता समाजवादी पार्टीले गुनासो गरिरहेको छ । कांग्रेस र माओवादी मिलेमा माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिकामा यसपटक एमालेलाई सकस हुन सक्छ ।

मादी र रूपामा भने दुवै दल मिले पनि एमाले नै बलियो देखिन्छ । एमाले विभाजन भएका कारण यसपटक कांग्रेसले अलि बढी आस गरेको छ । तर, कास्कीमा विभाजनको प्रभाव ठूलो छैन । त्यसैले एमालेले खासै ठूलो क्षति नहुने निष्कर्ष निकालेको छ । यद्यपि, पहिले लगभग सबै तह जितेका कारण एमालेलाई त्यही नतिजा दोहो¥याउन भने चुनौती देखिन्छ ।

कास्कीमा आगामी स्थानीय चुनावका लागि २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । तीमध्ये १ लाख ३३ हजार ७ सय ४२ पुरुष र १ लाख ४८ हजार ८७ महिला रहेको निर्वाचन आयोगले जनाएको छ । जिल्लामा ४ जना अन्य मतदाता पनि छन् ।