सभामुख घिमिरेले लेखे विपिन जोशीको रिहाइका लागि अरब संसदका अध्यक्षलाई पत्र

सभामुख घिमिरेले लेखे विपिन जोशीको रिहाइका लागि अरब संसदका अध्यक्षलाई पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेखेका छन्।

सभामुख घिमिरेले अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन्।

‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा सभामुख घिमिरेले लेखेका छन्।

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो। जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ।

गएको आइतबार नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए।

पत्रमा सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको उल्लेख गरेका छन्।