घोडाघोडीका मेयर र उपमेयरको झगडाः पार्टी मिले पनि मन मिलेन !

घोडाघोडीका मेयर र उपमेयरको झगडाः पार्टी मिले पनि मन मिलेन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलालीको घोडाघोडी नगरपालिकामा मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाबीचको विवाद उत्कर्षमा पुगेको छ ।

शनिबार वडा कार्यालय उद्घाटनका क्रममा उपमेयर थापाले आफ्नो नाम नराखेको भन्दै शीलापत्र नै तोडफोड गर्ने प्रयास गरेकी थिइन् । सोही क्रममा चौधरी र थापाबीचको विवाद सार्वजनिक भएको हो ।

चौधरी र थापाले तत्कालीन नेकपा (एमाले) बाट चुनाव जितेका थिए । उनीहरुले तत्कालिन नेकपा माओवादीसँग प्रतिष्पर्धा गरेका थिए ।

उपमेयर थापाले आफू महिला भएकै कारण हेपिएको आरोप लगाएकी छन् । उनले मेयर चौधरी र नि. प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले आफूसँग छलफल नै नगरी एकलौटी निर्णय गर्ने गरेको आरोप लगाइन् । उनकाअनुसार घोडाघोडी नगरपालिकाभित्र ५, ७ र १२ नम्बर वडा कार्यालय सम्पन्न भइसकेका छन् । यो बन्नेक्रममा केही दिन अगाडि उपमेयर थापाले अनुगमन गरेकी थिइन् । उनले निर्माण भइसकेका वडा कार्यालय घटस्थापनाको दिन  उद्घाटन गर्दा राम्रो हुने भएकाले सोही दिन गर्ने (उद्घाटन )कार्यसूची रहेको  बताइन् ।

‘इन्जिनियर, ओभरसियर लिएर म अनुगमनमा गएँ । १२ वडामा जाँदा शीलापत्र टाँसेको थिएन । ५ र ७ मा चाँही टाँसेको थियो । त्यसमा मेरो नाम समावेश थिएन । अरुले हेर्दा पनि यस्तो किन भयो ? विभेद किन गरियो भन्ने कुरा भयो । मैले हाम्रो प्रशासकीय अधिकृतज्यूलाई फोन गरें । उहाँले झर्केर बोल्नुभयो’, उनले घटनाबारे बेलिबिस्तार बलगाइन्, ‘त्यसपछि मेयरसावलाई फोन गरें । मेयर साव हजुरले मेरो इतिहास किन मेटाउने कोशिश गर्नुभयो । भन्दा तपाईको नाम मैले जानेरै नलेखेको/छुटाएको हो भन्नुभयो । त्यसपछि मैले यस्तो रणनीति अपनाउनु परेको हो ।’

जनताको मत पाएर आएका प्रतिनिधिले सार्वजनिक सम्पतिमाथि तोडफोड गर्दा नकारात्मक सन्देश गएन र ? भन्ने प्रश्नमा उपमेयर थापाले भनिन्, ‘नकारात्मक काम गरेपछि पब्लिकमा नकारात्मक सन्देश जाने नै भयो । उहाँले एकलौटी निर्णय गर्नुहुन्छ । उहाँले कार्यपालिकामा छलफल गर्ने कसको नाम लेख्ने सिलालेख लेख्ने कि नलेख्ने, त्यो कुरा छलफल गरेर कार्यपालिकाले पास गरिसकेपछि बल्ल पो अनि जनताको माझमा आउने हो त । छलफल नै छैन् । उहाँ आफूले मात्रै खेस्रा बनाएर, ठेकेदारलाई शीलालेख लेख्न लगाएर मैले अनुगमन गर्नेक्रममा पो मैले देखें नत्र मलाई त थाहा नै थिएन ।’

त्यस्तै उनले आफूहरुको पार्टी एउटै भए पनि मन नमिलेको बताइन् । उपमेयर थापाले आफूलाई महिला भएकै कारणले यस्तो काम गरिएको बताइन् । उनले महिलाका हक र हितका निम्ती जुनसुकै कदम चाल्न पनि तयार रहेको बताइन् ।

‘ हामी एउटै पार्टीको हो त के गर्ने ? यहाँ महिलाको कुरा छ । महिला उपप्रमुख आफ्नो अधिकारको लागि मैले गर्नुपरेको हो । कति सहेर बस्ने, कति दबेर बस्ने यो त लास्टै भयो’, उनले भनिन्, ‘त्यसैले यो गर्नुपर्यो । पहिले पनि कुनैकुनै निर्णय गर्दा उहाँले यस्तै व्यवहार गर्नुभएको थियो ।’

यता मेयर चौधरी भने उपमेयरले लगाएका आरोप स्वीकार्न तयार छैनन् । उनले उपमेयरलाई महिला भएका कारणले हेला नगरिएको दाबी गरे । उनले सार्वजनिक स्थानमा गाली बेइज्जती गर्दा आफ्नै (उपमेयरको) इज्जत गएको बताए । उनले कार्यपालिकाको बैठक बसेर उद्घटन गर्ने विषयमा छलफल भएको पनि बताए ।

‘यस विषयमा मेरो भन्नु केही छैन् । अप्रत्याशित, अर्मयादित र अनुशासनहीन कुरा हो । उहाँको नाम राख्नेवाला थियो त । रातारात त हुँदैन नि त’, उनले भने, ‘महिला भएकाले उहाँलाई हामीले हेपेको होइन । के भनेर नाम राख्नु ? उद्घाटन गर्ने उहाँ हो र कि वडा समितिको सदस्य भनेर राख्ने हो कि ? उहाँलाई वडामा राखिदिनु कि ? के भनेर राख्नु ? उहाँ कार्यपालिकाको बैठकमा पनि उपस्थित हुनुहुन्थ्यो ।’