टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)


काठमाडौँ  – काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज (शुक्रबार) घोडेजात्रा पर्व मनाइएको छ । यो जात्रा हरेक वर्षको चैत कृष्ण औँसीको दिन मनाइन्छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

जनविश्वास अनुसार गुरुमापा भनिने तुडी नाम गरेको राक्षसले यौटा ख्य अर्थात चौरमा बसी शहरका केटाकेटी खाने हुँदा त्यसको अत्याचारबाट आतङ्कित भएका शहरका बासिन्दाले विभिन्न उपायले संहार गर्दा पनि त्यसको आत्मा वर्तमान टुँडिखेलको पूर्व दक्षिणमा रहेको एउटा रुखको फेदमा जीवितै छ, भनिन्छ ।

त्यही विश्वासका आधार फेरि जागा भएर त्यसले बालकलाई अनिष्ट गर्न सक्ने संभावित भयले टुँडिखेलमा आज घोडा कुदाएर तुडी अर्थात गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाएको मानिन्छ । शहरका कुनै पनि बालकमाथि खतरा नहोस भनी आज राति टुँडिखेल भित्र रहेको रुखको फेदमा गुरुमापालाई खानेकुरा दिईने चलन छ ।

 

नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गरिएको छ । सेनाले देखाएको प्रदर्शन अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्दकिशोर पुन ,प्रधानमन्त्री केपी ओली लगायत सैनिक मञ्च टुँडिखेल पुगेका थिए । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।