घोषणापत्रमा पर्यटन नीति र दृष्टिकोणमा प्रतिस्पर्धा

घोषणापत्रमा पर्यटन नीति र दृष्टिकोणमा प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक दलहरूले पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन् ।

विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, क्षेत्रीय विकास र अन्तर्राष्ट्रिय छवि निर्माणसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्र अहिले चुनावी बहसको केन्द्रमा पुगेको छ ।

दलहरूले दिगो पर्यटन, धार्मिक पर्यटन, डिजिटल पर्यटन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय ब्रान्डिङलाई प्राथमिकता दिएका छन्, तर कार्यनीति र दृष्टिकोण भने फरक–फरक देखिन्छ ।

नेपालको पर्यटन क्षेत्र लामो समयदेखि सम्भावनाले भरिएको भए पनि नीतिगत अस्थिरता, पूर्वाधार अभाव, महँगो हवाई भाडा, सीमित अन्तर्राष्ट्रिय उडान र कमजोर बजार प्रवद्र्धनका कारण अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । यही सन्दर्भमा निर्वाचन घोषणापत्रहरूले पर्यटनलाई अर्थतन्त्रको भविष्यसँग जोडिएको विषय बनाएका छन् ।

आध्यात्मिक ब्रान्डिङदेखि डिजिटल पर्यटनसम्म कांग्रेसको योजना

नेपाली कांग्रेसले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार बनाउने लक्ष्यसहित आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । पार्टीले नेपाललाई प्राकृतिक मात्र नभई आध्यात्मिक, सांस्कृतिक र आरोग्य पर्यटनको विश्व गन्तव्य बनाउने सङ्कल्प गरेको छ ।

कांग्रेसले योग, ध्यान, आयुर्वेद र जडीबुटीलाई पर्यटनसँग जोड्ने योजना अघि सारेको छ । विदेशी पर्यटकका लागि वेलनेस र डिजिटल नोम्याड भिसा व्यवस्था गर्ने प्रस्तावले नेपाललाई बसोबास र उपचार गन्तव्यका रूपमा पनि स्थापित गर्ने लक्ष्य देखाउँछ ।

साथै, जनकपुर–लुम्बिनी–काठमाडौं आध्यात्मिक करिडोर, सांस्कृतिक सर्किट, होमस्टे विस्तार, सांस्कृतिक भिलेज निर्माण र डिजिटल पर्यटन प्लेटफर्म सञ्चालन गर्ने नीति प्रस्तुत गरिएको छ ।

हवाई सेवा सुधार, विमानस्थल सञ्चालन शुल्क घटाउने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्ने र युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउने लक्ष्य पनि कांग्रेसको प्राथमिकतामा परेको छ ।
कांग्रेसको नीति दीर्घकालीन ब्रान्डिङ, सांस्कृतिक पहिचान र स्थानीय रोजगारीसँग पर्यटन जोड्ने दृष्टिकोणमा केन्द्रित देखिन्छ ।

एमालेको रणनीति : बजार विस्तार, सेवा गुणस्तर र प्रचार

नेकपा एमालेले पर्यटनलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख स्रोत मान्दै पाँच वर्षभित्र पर्यटक संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ ।

पार्टीले पर्यटन विकासलाई पूर्वाधार, बजार प्रवद्र्धन, हवाई सेवा विस्तार, सुरक्षा र नयाँ गन्तव्य विकासमा केन्द्रित गरेको छ ।

एमालेले लक्जरी रिसोर्ट, इकोलज, वेलनेस सेन्टर निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । भिसा नीति पुनरावलोकन, अन्तर्राष्ट्रिय उडान सेवा प्रदायकसँग सहकार्य र आन्तरिक उडान सेवा सुधार गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।

एमालेले डिजिटल प्रचारलाई विशेष प्राथमिकता दिएको छ । सामाजिक सञ्जाल, ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालको पर्यटनको आक्रामक प्रचार गर्ने योजना पार्टीको मुख्य रणनीति मानिएको छ ।

राप्रपाको प्राथमिकतामा धार्मिक पर्यटन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पर्यटनलाई विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाको प्रमुख माध्यम मान्दै धार्मिक पर्यटनलाई उच्च प्राथमिकतामा राखेको छ । पार्टीले नेपाललाई हिन्दू, बुद्ध र किराँत धर्मको उद्गमस्थलका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने लक्ष्य लिएको छ ।

योग, ध्यान, आयुर्वेद, सांस्कृतिक चिकित्सा र आध्यात्मिक परम्परालाई समेटेर आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउने नीति पनि राप्रपाले अघि सारेको छ ।

पदयात्रा अनुमति प्रणाली सरल बनाउने, वैकल्पिक पदमार्ग विकास गर्ने र साहसिक पर्यटनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।

राप्रपाको नीति सांस्कृतिक पहिचान, धार्मिक गन्तव्य र आध्यात्मिक पर्यटनमा केन्द्रित देखिन्छ ।

नेकपाको नजरमा स्मार्ट र डेटा–आधारित पर्यटन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पर्यटनलाई स्मार्ट, डेटा–ड्राइभन र योजनाबद्ध बनाउने नीति अघि सारेको छ । पार्टीले प्रत्येक जिल्ला र पालिकाको पर्यटन प्रोफाइल तयार गर्ने, डिजिटल ड्यासबोर्ड निर्माण गर्ने र एकीकृत डिजिटल पोर्टलमार्फत सेवा उपलब्ध गराउने योजना प्रस्तुत गरेको छ ।

ईको–टुरिज्म, स्वास्थ्य पर्यटन, जडीबुटी पर्यटन, हिल स्टेशन विकास, नयाँ हिमाल आरोहण क्षेत्र खुला गर्ने र केबलकार निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

धार्मिक गन्तव्यहरूमा सडक, पूर्वाधार र सेवा विस्तार गर्ने योजना पनि नेकपाको घोषणापत्रमा समेटिएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको लक्ष्य : ५० लाख पर्यटक

प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्यटन प्रवद्र्धनमार्फत विदेशी मुद्रा आर्जनलाई प्राथमिकतामा राख्दै दश वर्षभित्र वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

२० वटा प्रमुख स्थानलाई सरकारी–निजी साझेदारी मोडेलमा विशेष पर्यटन क्षेत्र बनाउने, ग्रेट हिमालयन ट्रेल, मुन्दुम ट्रेल जस्ता पदमार्ग विकास गर्ने योजना अघि सारिएको छ ।

पार्टीले पर्यटन सुरक्षा, तालिमप्राप्त गाइड, उद्धार सेवा र ब्रान्डिङलाई पनि प्राथमिकतामा राखेको छ । नेपाललाई व्यावसायिक, खेलकुद, शैक्षिक र स्वास्थ्य पर्यटन केन्द्र बनाउने लक्ष्यले यस दलको नीति बहुआयामिक देखिन्छ ।

उज्यालो नेपाल पार्टी : पर्यटन समृद्धिको मार्ग

उज्यालो नेपाल पार्टीले पर्यटनलाई धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा तथा उपचारको गन्तव्य र साहसिक खेलको राजधानीका रूपमा विकास गर्दै पर्यटक आकर्षण बढाउँदै वार्षिक १० अर्ब अमेरिकी डलर राजस्व प्राप्त गर्ने लक्ष्य लिएको छ ।
साथै, कृषि उत्पादन प्रवद्र्धन तथा निर्यात विस्तारका लागि नियमन प्रणालीलाई चुस्त बनाउने, किसानमैत्री बजार र मूल्य सुनिश्चितता व्यवस्था सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

उनेपा पार्टीले पर्यटन क्षेत्रतर्फ विदेशी पर्यटक आगमन सन् २०३० सम्म २० लाख र २०३५ सम्म ५० लाख पु¥याउने लक्ष्य राखेको छ ।

नेपाल पर्यटन दशक (२०२६–२०३५) अभियानमार्फत सन् २०३५ सम्म वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित धार्मिक, सांस्कृतिक, साहसिक तथा इको–पर्यटन प्रवद्र्धन गरिनेछ । वर्षका ३६५ दिन पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी नेपाललाई पर्यटन हब बनाइनेछ ।

स्वदेशी तथा विदेशी हवाई सेवासँग सहकार्य गरी १० प्रमुख विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा विकास गरिनेछ। नयाँ उडान गन्तव्य थप्दै ट्रेकिङ मार्ग, सडक, केवलकार तथा होमस्टेहरूलाई सुरक्षित र आकर्षक गन्तव्य बनाइनेछ ।

रास्वपाको वाचा पत्रमा पर्यटन, उड्डयन र यातायात सुधारमा जोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी पाँच वर्षभित्र नेपाल भित्रिने पर्यटक संख्या तथा उनीहरूको प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्यसहित पर्यटन, उड्डयन र यातायात क्षेत्र सुधारका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

पार्टीले औसत बसाइ अवधि बढाउन आवश्यक नीतिहरू कार्यान्वयन गर्ने, ट्रेकिङ केन्द्रित पर्यटनलाई प्रकृति, संस्कृति र समुदायसँग जोडेर विविधीकरण गर्ने तथा कर्णाली र सुदूरपश्चिममा नयाँ पर्यटकीय गन्तव्य विकास गर्ने प्रतिबद्धता जनाएको छ।

विगतमा सडक निर्माणले क्षति पुगेका पदमार्गको विकल्प निर्माण गर्न बजेट छुट्याउने योजना पनि सार्वजनिक गरिएको छ ।

पर्वतीय पर्यटनमा सुधार गर्दै हिमालहरूलाई ६,००० मिटरदेखि ८,००० मिटर सम्म तीन श्रेणीमा वर्गीकरण गर्ने र ८,००० मिटरभन्दा माथि आरोहण गर्न तल्लो हिमालको अनुभव अनिवार्य बनाउने प्रस्ताव गरिएको छ । ड्रोन लगायत आधुनिक प्रविधिबाट खोज, उद्धार र सुरक्षा प्रणाली सुदृढ बनाइने बताइएको छ ।

पूर्वाधार, रोजगारी र ब्रान्डिङ, दलहरूको घोषणापत्र विश्लेषण गर्दा केही साझा विषय स्पष्ट देखिन्छन् । सबैको प्रतिबद्धता पत्रमा पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधार मानिएको छ ।

रोजगारी सिर्जना र स्थानीय विकाससँग जोडिएको छ । हवाई सेवा सुधार सबै दलको प्राथमिकता बनेको छ । डिजिटल प्रचार र अन्तर्राष्ट्रिय ब्रान्डिङ साझा विषय बनेको छ । धार्मिक, साहसिक र सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने सहमति देखिन्छ ।

सबै राजनीतिक दलहरुको प्रतिबद्धता पत्रमा पर्यटन क्षेत्रको प्रवद्धनका लागि साझा एजेण्डा भएपनि प्राथमिकता भने फरक छन् । नेपाली कांग्रेसले आध्यात्मिक ब्रान्डिङ र स्थानीय उद्यमलाई प्रामिकतामा राखेको छ ।

बजार विस्तार र प्रचारमा एमालेले जोड दिदा राप्रपाले धार्मिक पर्यटनलाई प्रमुख मानेको छ । डिजिटल र योजनाबद्ध पर्यटनका माओवादी केन्द्र केन्द्रित छ भने प्रलोपा र उनेपा पर्यटकको संख्या दोब्ब्र बनाउने लक्ष्य लिएको छ ।

घोषणाबाट कार्यान्वयन नै मुख्य चुनौती

नेपालमा पर्यटन विकासको प्रमुख समस्या नीति अभाव होइन, कार्यान्वयन कमजोरी मानिन्छ ।

महँगो हवाई भाडा, अन्तर्राष्ट्रिय उडान सीमित, सेवा गुणस्तर असमान, पूर्वाधार कमजोर र बजार प्रवद्र्धन कमजोर हुँदा पर्यटन सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।

निर्वाचनपछि बनेको सरकारले घोषणापत्रका योजनालाई व्यवहारमा उतार्न सके, पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई रूपान्तरण गर्न सक्छ । तर घोषणाहरू मात्र दोहोरिए भने पर्यटन पुनः सम्भावनाको भाषणमै सीमित हुन सक्छ । यसपटकको निर्वाचनमा दलहरुले पर्यटन सांस्कृतिक वा प्राकृतिक विषय मात्र नभई आर्थिक रूपान्तरणको केन्द्रमा राखेको छ ।

दलहरूको नीति फरक भए पनि नेपाललाई विश्व पर्यटन मानचित्रमा बलियो रूपमा स्थापित गर्ने लक्ष्य एउटै छ । तर निर्वाचनपछि बन्ने सरकारले प्रतिबद्धतापत्रमा उल्लेख गरे अनुसार व्यवहारमा रूपान्तरण गर्न सक्ने हो भने मात्र पनि पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रको दिशा निर्धारण गर्नेछ ।