सर्लाही– भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ तथा मोटर जडान सम्पन्न गरेबापतको भुक्तानी उपलब्ध गराउन सेवाग्राहीसँग आर्थिक लेनदेनको माग गरिएको भन्ने सूचनापछि विशेष निगरानी गरिएको थियो ।
त्यसक्रममा बर्दिबासस्थित अख्तियारको टोलीले डिभिजन प्रमुखको सरकारी क्वार्टरमा छापा मार्दा ७ लाख ५० हजार रुपैयाँ घुस रकम बरामद गरेको जनाएको छ । अनुसन्धानका क्रममा स्रोत खुल्न नसकेको थप ७१ हजार ११५ रुपैयाँ नगदसमेत फेला परेको छ ।
अख्तियारले दुवै कर्मचारीको साथबाट तीन थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छ । घटनाबारे आवश्यक प्रमाण संकलन गरी भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।




प्रतिक्रिया