गुठी विधेयक विरुद्धका प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप


काठमाडौं – गुठी विधेयकबारे विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार माइतीघर मण्डलमा गुठीसम्बद्ध विभिन्न संघसंस्थाले सामूहिक रुपमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड समेत गरेको छ । सो क्रममा डा. महेशमान श्रेष्ठ, अनिश वैद्य पक्राउ परेका छन् भने महेश्वर रञ्जीतकार घाइते भएका छन् । रञ्जीतकारको टाउको फुटेको बताइएको छ । घाइते रञ्जीतकारलाई उपचारका लागि आन्दोलनकारीहरुले प्रहरीको घेरा तोड्दै अन्नपूर्ण न्यूरो अस्पताल लगेका छन् ।

आन्दोलनकारीहरुले भूमाफिया पोस्ने विधेयक खारेज गर, संस्कृतिमाथिको हस्तक्षेप बन्द गर लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । ०७६ वैशाख १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो विधेकयक राष्ट्रिय सभामा दर्ता गरेको छ । गुठी विधेयकले धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै खारेजीको माग गर्दै विभिन्न संघसंस्थाको अगुवाइमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement