गिरीबन्धु जग्गा प्रकरणमा ओलीमाथि बालेनको कटाक्ष

गिरीबन्धु जग्गा प्रकरणमा ओलीमाथि बालेनको कटाक्ष

जनता नझुक्याउन र पीडितको बैना फिर्ता गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

मेयर बालेनले ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन र गिरीबन्धुको चिया बगानको जग्गा हिनामिना प्रकरणमा पीडितको बैना फिर्ता गर्न आग्रह गरेका छन् ।

बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउँला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

गिरीबन्धु चिया बगान जग्गाको भ्रष्टाचारमा ओलीको संलग्नता नहोला भन्न नसकिने बालेनको आशय छ । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ बालेनले लेखेका छन्, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

फेसबुकमार्फत उनले त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थालेको भन्दै कटाक्ष गरेका छन् ।

‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ’, फेसबुकमा उनले भनेका छन् ।