काठमाडौं – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए ।
मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले भने, ‘डा केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन ।’
चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् ।
मन्त्री पोखरेलले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई आग्रह गरेका छन् । पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए ।
‘१५ दिनभित्र विद्यार्थीका गुनासा समाधान नगरे ठगी मुद्दा चलाउँछौं,’ मन्त्री पोखरेलले भने ।
शिक्षा मन्त्री पोखरेलका अनुसार सोमबार गृह मन्त्रालयलाई यसबारे पत्राचार गरेर जानकारी गराइन्छ ।
चितवन मेडिकल कलेजले विद्यार्थीबाट उठाएको अवैध शुल्क कात्तिक १८ गतेभित्र फिर्ता वा समायोजन गर्ने बताए पनि कार्यान्वयनमा भने ल्याएको छैन ।




प्रतिक्रिया