ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत

ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार काठमाण्डुमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण प्रस्तुत गरेका थिए । सभाले विवरण अनुमोदन गर्दै लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड करपछिको मुनाफा आर्जन गरेको थियो ।

अध्यक्ष ढकालले आफ्नो मन्तव्यमा बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति–नियमहरूको पूर्णपालना गर्दै शेयरधनीहरूलाई स्थायी लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले बैंकको व्यावसायिक रणनीतिअनुसार नयाँ क्षेत्रहरूको सन्तुलित विस्तारमार्फत दीगो विकासतर्फ अघि बढ्ने योजना रहेको पनि उल्लेख गरे ।

सभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संस्थागत तथा व्यक्तिगत शेयरधनी, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि र बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।

ग्लोबल आईएमई बैंकले विगत वर्षहरूमा ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर अवार्ड’ जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेको छ ।

देशका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायत मुलुकहरूबाट नेपालीहरूलाई आर्थिक सेवा उपलब्ध गराउँदै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याइरहेको छ ।