काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ ।
बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो ।
बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) र मशिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन दोस्रो संस्करण २०२६ आगामी २९–३१ मेमा आयोजना गर्नेछ ।
प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनीयर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूका लागि आवेदन खुला गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ ।
पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकाले बैंकले ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्न लागेको छ ।
ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनीयर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ ।
ह्याकाथनले डिजिटल बैंकिङमा आउने नवीनतम् सेवा विकास र सम्भावित चुनौतीको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले द अटोनोमस क्रेडिट एण्ड लेन्डिङ अर्केस्टे«टर, एजेन्टिक फ्रड डिटेक्सन, द मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क एआई ड्रिभन इन्टुजन डिटेक्सन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरूमा केन्द्रित रही आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ ।
उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।
प्रविधिमैत्री वित्तीय सेवाहरू प्रवर्द्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै नविनतम् अवधारणालाई प्रोत्साहित गर्न ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।




प्रतिक्रिया