काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडको प्रवर्द्धनमा सञ्चालित सामूहिक लगानी कोष ‘ग्लोबल आईएमई समुन्नत योजना–२’मा सर्वसाधारणबाट अत्यधिक उत्साहजनक प्रतिक्रिया प्राप्त भएपछि शुक्रबारदेखि बैंकिङ समयपश्चात् इकाई बिक्री बन्द हुने भएको छ ।
१२ करोड इकाईमध्ये न्यूनतम ६ करोड इकाई बिक्री हुनुपर्नेमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले बिक्री प्रक्रिया समयमै टुंग्याउने तयारी गरिएको छ ।
योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले संस्थापकका रूपमा १८ लाख इकाई (१.५%) र कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेडले १ करोड ६२ लाख इकाई (१३.५%) बीजपुँजीका रूपमा सुरक्षित राखेका छन् ।
गत असार २२ गतेदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्कासन खुला गरिएको योजनामा बाँकी १० करोड २० लाख इकाई बिक्रीका लागि राखिएको थियो । निर्धारित अन्तिम मिति असार २७ गतेसम्ममा मागभन्दा २५ प्रतिशत बढी माग भइसकेको र योजना कूल आकार १ अर्ब ५० करोड रुपैयाँ पुग्ने प्रबल सम्भावना रहेको क्यापिटलले जनाएको छ ।
योजना व्यवस्थापक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले निष्कासन प्रक्रियामा साथ र सद्भाव प्रदान गर्ने नियामक निकाय, आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, सञ्चारमाध्यमहरू, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गरेको छ ।




प्रतिक्रिया