ग्लोबल आईएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना

ग्लोबल आईएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना

विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् पूर्ण बैंकिङ सेवा प्रदान हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ ।

बिहीबार बैंकमा आयोजित विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक शुभारम्भ गरे ।

नेपालमै पहिलोपटक सुरु गरिएको विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ ।

बैंकको विभागबाट विदेशमा रहेका नेपालीहरूलाई सम्पूर्ण बैंकिङ सेवाहरू जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरू प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।

विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरूलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाण्डुको नक्सालस्थित विभागको कार्यालयमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउनेछ ।

विभिन्न देशमा रहेका नेपालीहरूको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरूलाई २४ घण्टै सेवा प्रदान गर्नेछ ।  

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आईएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

बैंकले विगत २ दशकमा विश्वव्यापीरूपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरूको विकास तथा विभिन्न १० देशभन्दा बढी देशमा रहेका बैंकका कर्मचारीहरूमार्फत् बैंकिङ सेवाहरू प्राथमिकतामा प्रदान गर्दैआएको छ ।

विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध विना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ ।

विभागको औपचारिक उद्घाटन गर्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए ।

‘नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आईएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरूलाई उहाँहरूको आवश्यकता अनुरूप पूर्ण बैंकिङ सेवाहरू प्रदान गर्नेछ । विभागले विभिन्न सेवामार्फत उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्‍याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रुपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्नेे यो हाम्रो महत्वपूर्ण प्रयास हो,’ उनले भने ।

यसै अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए ।

‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आईएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरुको आवश्यकता तथा चाहनालाई पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,’ उनले भने ।

उनले यस पहलसँगै ग्लोबल आईएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरुसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताए ।

शुभारम्भ कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापकको उपस्थिति रहेको थियो ।

बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दोे बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

विभागको कार्यालय ग्लोबल आईएमई बैंकको काठमाण्डुको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने छ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभागमा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।

बैंकको प्रत्यक्ष टेलिफोन नम्बरहरू ९७७–०१४५४४५१५, ९७७–०१४५३८१०५/०७, इमेल ठेगाना कगउउयचतचझष्त२नष्द।िअयm।लउ र ह्वाट्सएप वा भाइबर नम्बर ९७७–९८५११९९६४० मार्फत ग्राहकहरुले सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।