काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५–७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।
बैंकले आव २०७५–७६ मा दुई अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड पुग्ने बैंकले जनाएको छ । साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।
सोमबार सम्पन्न साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।
साधारणसभाले बैंकको अधिकृत पूँजी रु १६ अर्बलाई वृद्धि गरी रु २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ ।
मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयरधनीको आकांक्षा अनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमति गरेका थिए भने गत कात्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबल आइएमईका तर्फबाट पाँच र जनता बैंकका तर्फबाट दुई जना रहने सहमति भएको छ ।
त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायब कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १० अर्बभन्दा बढी र कूल कर्जा लगानी करीब रु दुई खर्ब पुग्नेछ ।




प्रतिक्रिया