काठमाण्डु– ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै आइपिओ भर्न र लाइभ बजार हेर्न पाइने भएको छ । बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एप प्रयोगकर्ताले सीधै मोबाइलबाट आइपिओ भर्न सक्ने भएका हुन्।
एपभित्र रहेको आइपिओ म्यानेजमेन्ट सेक्सनमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि तुरुन्तै सिआरएन नम्बर प्राप्त गर्न सक्छन्।
आइपिओ खुला भएको समयमा सोही एपबाट आवेदन दिन मिल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
यससँगै, कुन कम्पनीको आइपिओ खुला हुँदैछ भन्ने सूचना पनि एपमै उपलब्ध हुने भएकाले लगानीकर्ताले समयमै अपडेट पाउनेछन्।
बैंकका अनुसार यस सुविधाले आइपिओ आवेदन प्रक्रियालाई छिटो, सरल र झन्झटमुक्त बनाउने लक्ष्य राखेको छ। अन्य माध्यममा जानुपर्ने आवश्यकता घट्ने र समय बचत हुने दाबी गरिएको छ।
यसबाहेक, एपमा ‘लाइभ मार्केट’ फिचर पनि थप गरिएको छ। यसमार्फत प्रयोगकर्ताले सेकेन्डरी बजारमा भइरहेको कारोबारको रियल–टाइम अपडेट हेर्न सक्नेछन्।
यसले मोबाइल बैंकिङ एपलाई केवल भुक्तानी र ट्रान्सफरको साधन मात्र नभई लगानी व्यवस्थापनको प्लेटफर्मका रूपमा विस्तार गरेको देखिन्छ।




प्रतिक्रिया