काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार बिहान कांग्रेस सांसदद्वय डा. डिला संग्रौला र गगनकुमार थापाले डा. केसीका माग बेवास्ता गरे प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
दिनदिनै स्वास्थ्य अवस्था बिग्रिरहेको भन्दै उनीहरुले डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
डा. संग्रेसलाले अनसनरत डा. केसीले तीन करोड नेपालीहरुको प्रतिनिधित्व गरेकाले तत्काल वार्ता टोली गठन गरेर जीवनरक्षा गर्न सरकारसँग माग गरेकी छन् ।
‘चिकित्सा सुधार एबम कोरोनाको महामारी प्रति उठाइएको मागलाई सरकारले तुरुन्त सम्बोधन गरोस् । अन्यथा प्रधानमन्त्रीज्यूले चर्को मुल्य चुकाउनु पर्छ’, उनले भनिन् ।
डा. संग्रौलाले डा. केसीको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन पनि सबै नागरिकहरुलाई आग्रह गरेकी छन् ।
त्यस्तै सांसद थापाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै डा. केसीले राखेका कुन चाँही माग जनहित विपरित छन् ? भन्दै प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीज्यू, तपाईँ आफैंले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ?’, उनले प्रश्न गरे, ‘डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ? पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस् ।’
सांस्द थापाले डा. केसीका माग पूरा गर्न कांग्रेसको पूर्ण सहयोग हुने स्पष्ट पारेका छन् । उनले सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गरे त्यसको ठुलो मूल्य प्रधानमन्त्रीले चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
‘प्रमज्यू ,ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो’, सांसद थापाले भने ।




प्रतिक्रिया