काठमाण्डु – २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीका माग पूरा गर्न सरकारी वार्ता टोली समझदारीबाट पछि हटेको छ ।
डा. केसी पक्षले सरकारी पक्ष समझदारीबाट पछि परेको बताएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै केसी पक्षको वार्ता टोलीले राजनीतिक नेतृत्व पक्षले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न खोजेको बताएको छ ।
‘तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त समझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभुत विषयमा फरक कुरा समेट्न प्रयास गर्यो । त्यस क्रममा अनौपचारिक पहलमार्फत डा केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो । तर असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै केसी पक्षले राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियत समेत उदांगो भएको बताएको छ ।
‘डा केसीको स्वास्थ्यमा जोखिम बढेर जटिलता आइ ज्यानै जान सक्न सम्भावना रहेकाले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिंदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्रिपरिषद्बाट पारित गर्न सरकारसामू जोडदार माग गर्दर्छौं । त्यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाण्डुमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन सबै नागरिकलाई अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई डा. केसी पक्षले अपिल गरेको छ ।




प्रतिक्रिया