काठमाडौं – चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी १७ औं सत्याग्रह बस्न डडेल्धुरा पुगेका छन् ।
आफूले अगाडि सारेका माग पूरा नभएको भन्दै केसी सत्याग्रह बस्न डडेल्धुरा पुगेका हुन् ।
सरकारको भ्रष्ट र ‘माफियामुखी’ व्यवहार नसच्चिएको र आफूले सुधारका लागि दिएको समय सकिएकाले अनसन बस्न डडेल्धुरा आइपुगेको केसीले बताए ।
यसपटक केसीले राखेको छ वटा बुँदे मागमा डडेल्धुरा तथा डोटीमध्ये एक जिल्लामा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने उल्लेख छ । केसीले आफ्ना विगतका सत्याग्रहमा पनि यो माग उठाउँदै आएका थिए ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस कार्यक्रम सञ्चालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस् । प्रदेश २ र ४ तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्,’ केसीले राखेको चौथो नम्बर बुँदाको मागमा उल्लेख छ ।
यसबाहेक केसीले आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग राखेका छन् ।
विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकेर परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न केसीले माग गरेका छन् ।
आन्दोलनरत मेडिकल विद्यार्थीहरूका माग पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरी ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुनबमोजिम कारबाही गर्नुपर्ने केसीको अर्को माग छ ।
यस्तै, संसदीय उपसमितिको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्धि गर्नेसम्बन्धी निर्णय तत्काल खारेज गर्नुपर्ने उनको माग छ ।




प्रतिक्रिया