यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको निजी सम्पत्ति हाेइनः गोविन्द केसी

यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको निजी सम्पत्ति हाेइनः गोविन्द केसी


काठमाण्डु – डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निजी सम्पति नभएको बताएका छन् ।

‘यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हाेइन । यसैगरी कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ’,उनले भनेका छन्, ‘अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएका हुन्, नेताहरूको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना भएको हैन । त्यसैले यो संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई कुनै पनि हालतमा त्यस्तो कुकर्मका लागि दण्डित गर्नु पनि हाम्रो नागरिक कर्तव्य हुन्छ ।’

डा. केसीले सरकारले चालेको असंवैधानिक कदमलाई न्यायालयले सच्याउने बताएका हुन् । उनले न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरूको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी हामी नागरिकसामु सदा रहने बताएका छन्

‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको यस्ता कदमलाई न्यायालयले सच्याइदिनेछ भन्ने नागरिकहरूको अपेक्षा छ । यससँगै देशको न्यायालय पनि अग्नि परीक्षामा छ’, उनले भनेका छन्, ‘न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरूको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी हामी नागरिकसामु सदा रहने नै छ ।’