काठमाडौं – प्रा. डा. गोविन्द केसीले सरकारको ध्यान नागरिकको ज्यान जोगाउन केन्द्रित हुन नसकेको आरोप लगाएका छन् । उनले आइतबार हुम्ला तारकोटबाट विज्ञप्ति निकाल्दै सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार नभएको आरोप लगाएका हुन् ।
‘महामारीको जोखिम झनै गहिरिइरहेको बेला अहिले पनि सरकारको ध्यान नागरिकको ज्यान जोगाउने कुरामा केन्द्रित हुन सकेको छैन’, उनले भने, ‘कोरोनाको परीक्षण क्षमता आवश्यकता अनुसार बढ्न सकेको छैन भने अरु रोगका बिरामीसमेत उपचार नपाएर धमाधम मृत्युवरण गरिरहेका छन् ।’
नेपालमा कोभिड–१९ व्यवस्थापनमा भइरहेको भाँडभैलो र भ्रष्टाचारको विरोधमा आफूहरुले लामो समयदेखि आवाज उठाइरहेको उनले बताए । देश कोरोना महामारीले अस्तव्यस्त हुँदा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको उनले उल्लेख गरे । ‘सिंगो देशको स्वास्थ्य सेवा महामारीका कारण अस्तव्यस्त हुँदा तथा देशको अर्थतन्त्र तहसनहस हुँदा नागरिकलाई राहत दिनको सट्टा सत्तामा हुने मानिसहरु अनियमितता र भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण कुरा हो’, उनले भने ।
डा केसीले यस्तो विषम अवस्थामा नागरिकले बारम्बार सरकारलाई झक्झक्याउँदै गम्भीर हुन आग्रह गरिरहे पनि सरकार भने आफ्नो कमजोरी ढाकछोपमा लागेको आरोप लगाए ।
उनले भने, ‘लकडाउन हल्का भए लगत्तै देशभरका सडकमा निस्केर उनीहरुले प्रदर्शन पनि गरेका छन् । तर सत्तामा र त्यस वरपर हुनेले उनीहरुका जायज मागको सुनुवाइ गर्नको सट्टा आफ्नो कमजोरी ढाकछोप गर्न प्रदर्शनकारीलाई नै बदनाम गर्ने प्रयास गर्दै आएका छन् । प्रदर्शनकारीहरुमाथि धम्की र धरपकड सामान्य भइसकेको छ । सरकारको यस्तो अलोकतान्त्रिक काम हामीलाई स्वीकार्य छैन ।’




प्रतिक्रिया