अवैध गोदाममा छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना सशस्त्र प्रहरी घाइते

अवैध गोदाममा छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना सशस्त्र प्रहरी घाइते


काठमाण्डु– पर्साको वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गरेका छन् ।

आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा तस्कर समूहको आक्रमणमा परी ३ जना सशस्त्र प्रहरी घाइते भएका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए। तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षती पुगेको छ । बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता डीएसपी थापाले बताए ।