काठमाण्डु – नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाउन निरन्तर प्रयत्न गरिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता विष्टले अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि आफूहरुको प्रयत्न कायमै रहने बताएका हुन् ।
‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ,’ उनले भनेका छन् ।
नेता विष्टले भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने दृढ प्रयत्नले सफलता पाइ छोड्ने बताए ।
‘यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ,’ उनले भनेका छन् ।
एमाले विवाद समाधान गर्न गठित कार्यदलको १० बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टी जनाइसकेका छन् । आइतबार काटेश्वर पुगेका कार्यदल सदस्यहरुसँग नेता नेपालले उक्त सहमतिप्रति असन्तुष्टी जनाएका हुन् ।
साथै आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपाल पक्षसहित २२ जना एमालेका सांसदले विश्वासको मत दिएपछि एमाले भित्रको विवाद झनै उत्कर्षमा पुगेको हो । संस्थापन पक्ष केपी शर्मा ओली पक्षका केही सांसदसहित २२ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।




प्रतिक्रिया