काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांस्द गोकर्ण विष्टले दसैं भत्तावापत पाएको रकम फिर्ता गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका सांसद विष्टले दसैं भत्ता वापतको रकम बराबरको चेक काटेर संसद सचिवालयमा पत्रसहित फिर्ता पठाएका हुन् ।
उनले कोरोना भाइरसको महामारीका कारण चरम संकटको अवस्था रहेको र लाखौं श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको बताएका छन् ।
‘अति विपन्न व्यक्तिहरूले चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको छ । कोरोना र अन्य रोगका विरामीहरूले उपचारको लागि अस्पतालको शैया समेत नपाउने अवस्था उत्पन्न भएको छ । यसरी आम नागरिकले रोग र भोकसंग जुधिरहेको यो संकटपूर्ण घडीमा अनावश्यक खर्च र कतिपय सुविधा समेत कटौती गरेर जनताको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ,’ उनले भनेका छन् ।
सांसद विष्टले नागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिदै गएको अबस्थामा सांसदको हैसियतमा दशैं खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको हिसाबले पनि उपयुक्त नदेखिने बताएका छन् ।
‘यसकारण दसैं खर्चको नाममा दिन लागिएको सुविधा बापतको रकम थोरै भएपनि सर्वसाधारण जनताको उपचार र राहतमा सहयोग पुगोस् भन्ने भावनाले यसै पत्र साथ संघीय संसद सचिवालयमा चेक मार्फत् फिर्ता गरेको ब्यहोरा अनुरोध गर्दछु’, उनले भनेका छन् ।





प्रतिक्रिया