काठमाण्डु – गुल्मी क्षेत्र नम्बर २ मा यसपटकको निर्वाचन रोचक हुने देखिएको छ । यस क्षेत्रमा दुई प्रमुख पार्टीका सचिवहरु भिडन्तमा उत्रिएका छन् ।
नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीबीच कडा टक्कर हुँदैछ । उनीहरु यसअघि एउटै पार्टीका सहयात्री हुन् ।
समाजवादीकी नेतृ झाँक्रीलाई सत्तारुढ गठबन्धनका दलहरुको साथ रहनेछ भने एमालेका विष्टले एक्लै प्रतिस्पर्धा गर्नेछन् । विष्टलाई नेकपा एमालेमा ‘इलेक्सन म्यान’का रुपमा पनि चिनिने गरिन्छ ।
यसअघि २०७४ सालमा भएको निर्वाचनमा रामकुमारी झाँक्री नेकपा एमालेको समानुपातिक सूचीमा थिइन् भने उनले चुनावमा गोकर्ण विष्टको पक्षमा मत मागेकी थिइन् ।
नेकपा एमालेबाट चोइटिएर माधवकुमार नेपालको अध्यक्षतामा बनेको नेकपा एकीकृत समाजवादीमा लागेकी रामकुमारी झाँक्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भाषण गरेर यो बीचमा चर्चामा आइन् । उनलाई नेकपा एसले मन्त्रीसमेत बनाएको थियो । मन्त्री पदबाट बिदा हुनु पर्दा रोएपछि उनको आलोचना पनि भएको थियो ।
झन्डै ३ दशक एउटै पार्टीमा रहेका झाँक्री र विष्ट गत वर्षमात्रै फरकफरक पार्टीमा लागेका हुन् । एमालेको प्रभावशाली क्षेत्र मानिएको गुल्मीमा २०५६ सालदेखि नै उम्मेदवार बन्दै आएका गोकर्ण विष्टले निर्वाचनमा जित निकाल्दै पनि आएका छन् ।
उनी २०६४ मा मात्र माओवादीका चन्द्रबहादुर थापासँग पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा विष्टले १४ हजारभन्दा बढी मतले जित निकालेका थिए । लामो समयदेखि निर्वाचनमा जित निकाल्दै आएका विष्ट त्यसैले यसपटक पनि जित निकाल्नेमा ढुक्क छन् ।
त्यसमाथि गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा पनि त्यहाँ नेकपा एमाले नै अगाडि रहेको छ । नेकपा एमालेका वडाध्यक्षहरुले त्यहाँ ३१ हजारभन्दा बढी मत पाउँदा नेपाली कांग्रेसले २९ हजार ८ सय मत पाएको थियो । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले क्रमशः १८४१ र ६५८ मत मात्र पाएका थिए ।
स्थानीय तहको निर्वाचनको परिणामका कारण पनि विष्ट यो क्षेत्रमा आफूलाई सहज हुने अड्कलबाजीमा रहेका छन् । तर, गठबन्धनका दलहरुको मत आफूलाई ल्याउन विष्टलाई ठूलो चुनौति हुने देखिन्छ ।
झाँक्रीको पार्टीको अवस्था कमजोर भए पनि उनी गठबन्धनका दलहरुका मतदाताहरुले अन्तर्घात नगरेमा आफूले जित निकाल्ने होडमा छिन् ।




प्रतिक्रिया