काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले गाँजा खेतीलाई खुला गर्न नसक्ने बताएका छन् ।
बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने ‘गाँजा खेतीलाई अहिलेसम्म हाम्रो कानूनले मान्यता दिएको छैन । हामीले यसलाई नष्ट गर्दै आएका छौं ।’
उनले गाँजा खेती मान्छे लठ्याउनलाई गर्ने हो वा औषधीय प्रयोगको लागि हो पहिले त्यो कुरामा स्पष्ट हुनुपर्ने बताए । उनले गाँजा खेतीले उर्जा उत्पादनभन्दा बढी लाभ दिनेजसरी बाहिर कुरा आएको बताए ।
मन्त्री बाँस्कोटाले भने, ‘गाँजा खेती गरेरै धनी हुने वा नहुने विषय मलाई जानकारी भएन । अहिलेसम्म गाँजालाई हामीले लागुऔषधकै रुपमा लिएका छौं ।’
उनले पैसा आउँछ भन्नेवित्तकै जे पनि गर्न नसकिने बताए । उनले भने, ‘यसको विषयमा अन्यत्रै बहस गरौं । सरकारले यस विषयमा अहिले केही सोचेको छैन ।’
गत माघ ६ गते सत्तापक्षका विरोध खतिवडासहित ४२ सांसदले गाँजा खेतीलाई वैधानिक गर्न प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए ।




प्रतिक्रिया