सरकारले नराम्रो काम एउटा गरेको छैन, नराम्रो देख्ने आँखा नै नराम्रा हुन्ः मन्त्री बाँस्कोटा

सरकारले नराम्रो काम एउटा गरेको छैन, नराम्रो देख्ने आँखा नै नराम्रा हुन्ः मन्त्री बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले गरेका काम सबै राम्रा भएको दाबी गरेका छन् ।

सरकारका निर्णय सुनाउन बिहीवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले सरकारका काम नदेख्ने आँखा नै नराम्रो भएको दाबी गरे ।

‘नराम्रो काम एउटा गरिएको छैन, नराम्रो देख्ने आँखा नै नराम्रा हुन्,’ प्रवक्ता बाँस्कोटाले भने, ‘राम्रा कुरा नदेखाइदिने, नराम्रो मात्र लेखिदिने हातहरूबारे पनि प्रश्न छ मेरो ।’

उनले सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं सम्बोधन गर्ने बताए ।

‘शायद भोलि या पर्सी्तिर प्रधानमन्त्रीज्यू आफैंले सम्बोधन गर्नुहुनेछ,’ उनले भने, ‘त्यहाँ चाहिँ तपाईंहरूले इमान्दारीपूर्वक लिनुस् र क्रस चेक गर्नुस् ।’

बाँस्कोटाले यो दुई वर्षमा आधारभूत रूपमा देश सु–सम्पन्न भएको तर्क गरे ।

‘विधिको शासन बलियो भयो भन्ने हाम्रो दाबी छ,’ उनले भने, ‘रुल अफ ल को इन्डेक्स २ स्थान माथि पुगेको छ । त्यसैगरी भ्रष्टाचारसम्बन्धी सूचकांकमा पनि हामी अघि आएका छौं । सुखी नेपाली समृद्ध नेपालको नाराले नतिजा देखाउन थालेका छ ।’

उनले जनताको जीवनस्तर पनि माथि उक्लिएको बताए । उनले शान्ति सुव्यवस्था सुध्रेको तर मान्छेहरूले एउटा घटनालाई लिएर सरकारमाथि आलोचना गर्ने गरेको भन्दै असन्तुष्टि पोखे ।

‘एउटा केसमात्र सम्झना हुन्छ, त्यो हजारपटक स्पष्टीकरण दिइयो,’ प्रवक्ता बाँस्कोटाले भने ।

बाँस्कोटाले रेल यही वर्षभित्र कुद्ने बताए । उनले महासागरमा नेपालको झण्डा बोकेर पानीजहाज छिटै तैरिने बताए ।

‘हिन्द र प्रशान्त महासागरमा पोर्टहरू लिइसकेका छौं,’ उनले भने, ‘यो एकैचोटी सयवटा चल्दैन होला नि त ! बिस्तारै हुने होला ।’