दोषी ठहर भए गोकुल बाँस्कोटालाई ८ वर्ष जेल, २५ करोड जरिवाना

दोषी ठहर भए गोकुल बाँस्कोटालाई ८ वर्ष जेल, २५ करोड जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७४ करोड कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएपछि बिहीबार नै राजीनामा बुझाएका छन् । राजीनामा दिएसँगै उनीमाथि भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको सजाय हुने कसुर गर्ने उद्योग गर्नेलाई आधा सजाय हुने व्यवस्था अन्तर्गत उनलाई सो सजाय हुनेछ ।

अडियोमा प्राप्त ७४ करोडको ७० प्रतिशत अर्थात् ५१ करोड ९० लाख उनले कमिसन पाउने भएपछि त्यसको आधा अर्थात् २५ करोड ४५ लाख रुपैयाँ जरिवाना हुनसक्छ ।

भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार रू १ करोड भन्दा बढी भ्रष्टाचारको कसुर ठहर भए बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । ऐनको दफा २१ अनुसारको व्यवस्था बाँस्कोटाको हकमा आकर्षित हुनेछ । त्यो भनेको कुल सजायको आधा हो ।

तर, ऐनको दफा २४ मा भएको थप सजायसम्बन्धी व्यवस्थाका कारण बाँस्कोटाले भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए थप ३ वर्ष कैद सजाय हुने व्यवस्था छ ।